गठबन्धनले धाँधली गर्याे: एमाले

नेकपा एमालेले निर्वाचनमा सत्तारुढ गठबन्धनले आचारसंहिताबिपरित अनेकौं हर्कत गरेको फेहरिस्तसहित भण्डाफोर गरेको छ । एमाले महासचिव शंकर पोखरेलले आज बिज्ञप्ती जारी गर्दै निर्वाचन अगाडि र निर्वाचन पछाडि गठबन्धनले जनमतको अपमान गर्ने गरी हर्कत गरेको भन्दै कडा प्रतिवादको चेतावनी दिनुभएको छ ।

‘स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित हुनुपर्ने निर्वाचनलाई भय र त्रासबिना मतदान र मतगणना हुनुपर्नेमा सत्ताधारी गठबन्धनले त्यसलाई पुरै बेवास्ता गरी जसरी पनि जित्न धाँधलीका साहारा लिएको छ । यसरी सत्ता गठबन्धनले लोकतन्त्रको र लोकतान्त्रिक अभ्यासको खिल्ली उडाएको छ । हामीले निर्वाचन आयोगलाई अचारसंहितामा भएको त्रुटी सच्याउन अनुरोध गर्दा अनेक टिप्पणी गर्ने सत्ता गठबन्धन दलका नेताहरुका निरन्तर आचारसंहिता विपरीत कार्यप्रति नेकपा (एमाले) खेद व्यक्त गर्दछ,’ महासचिव पोखरेलले बिज्ञप्तीमार्फत भन्नुभएको छ, ‘निर्वाचनको क्रममा गृह प्रशासन पूर्णतः गठबन्धनको पक्षमा र नेकपा (एमाले)को विपक्षमा परिचालित भयो । मतदान र मतगणनाको क्रममा सत्ता गठबन्धनले योजनाबद्ध धाँधली गरेको निम्न कार्यप्रति नेकपा (एमाले) खेद व्यक्त गर्दछ ।’

महासचिव पोखरेलको बिज्ञप्तीअनुसार निर्वाचनलाई प्रभावित गर्न सत्ता गठबन्धनलाई सहयोग हुने गरी गृह प्रशासनद्वारा र प्रहरी तथा कर्मचारीहरु खटाएको छ । यस्तै एमालेका पक्षमा रहेका मतदातालाई हतोत्साह गर्न अघिल्ला दिन गिरफ्तार गर्ने र मतदान पछि मात्र छाड्ने कार्य गरिएको छ । निर्वाचन अगाडि एमाले कार्यकर्तालाई अपहरण र पूर्व रुकुम तथा ताप्लेजुुङमा एमाले कार्यकर्ताको हत्या गर्ने कार्य भएको र ताप्लेजुुङमा मृत्यु भएका एमाले कार्यकर्ताको पोष्टमार्टम गर्न समेत नगरी त्यसै राखिएको पनि बिज्ञप्तीमा उल्लेख छ ।

यसैगरी मौन अवधिमा बुटवललगायतको स्थानमा नेकपा (एमाले)का उम्मेदवारलाई हतोत्साहित गर्ने र मतदातालाई अनुचित प्रभाव पार्ने उद्देश्यले उम्मेदवारको गाडी खानतलासी गर्ने, उम्मेदवारलाई पक्राउ गर्ने, उम्मेदवारका परिवारका सदस्यलाई प्रचारात्मक रुपमा घेराबन्दीमा पार्ने, गिरफ्तार गरेको प्रचार गर्ने लगायतको हत्कण्डाको प्रयोग गरी अर्कोतिर सत्ता गठबन्धनबाट हाकाहाकी पैसा बाँड्ने काम हुुँदा समेत रोक्न कुनै सार्थक प्रयास नगरिएको पनि उहाँले बताउनु भएको छ ।

Leave a Reply

Your email address will not be published.