नेपालगञ्जमा गठबन्धनका विष्टको अग्रता कायमै मिश्रा निकटतम

 

 

नेपालगञ्ज उपमहानगरपालिकाको नगर प्रमुखमा जसपा–कांग्रेस गठबन्धनका प्रशान्त विष्टले अग्रता लिने क्रम कायमै रहेको बेलामा एमालेका पशुपति दयाल मिश्राले राप्रपाका नन्दलाल बैश्यलाई पछाडि पार्दै दोस्रो स्थानमा पुगेका छन ।

पछिल्लो मत गणनाको प्राप्त परिणाम अनुसार नगर प्रमुख पदका उम्मेदवार विष्टले २ हजार ८ सय १२ मत प्राप्त गरी अग्रता लिएका हुन् । यस्तै नेकपा एमालेका पशुपतिदयाल मिश्रले १ हजार ४ सय ११ र राप्रपाका नन्दलाल बैश्यले १ हजार ३ सय ४ मत प्राप्त गरेका छन् । पहिलो नम्बरमा रहेका विष्ट र दोस्रो नम्बरका मिश्रबीच १ हजार ४ सय १ मतको अन्तर रहेको छ ।

यसैगरी उपप्रमुखमा जनता समाजवादी पार्टी (जसपा)का कमरुद्धिन राईले १ हजार ८ सय ८३ मत ल्याएर अग्रता लिइरहेका छन् । उनी पनि गठबन्धनका उम्मेदवार हुन । राप्रपाकी बिन्दु चर्तीमगरले १ हजार १ सय ३० र नेकपा एमालेकी शान्ति ढकालले ८ सय ९७ मत प्राप्त गरेकी छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिलेसम्म वडा नम्बर २२ र २३ को मतगणना पुरै सकिएको छ । स्थानीय भेरी प्राविधिक शिक्षालयमा वडा नम्बर १, २, २० र २१ को मतगणना कार्य चलिरहेको छ । नेपालगञ्जमा ८१,७९४ मतदाता मध्ये ६१,२०५ मत खसेको थियो ।

Leave a Reply

Your email address will not be published.