गुरुवागाउँ मेलामा नौटंकी नाच, मदिरा बिक्री नहुने

बाँकेको जानकी गाउँपालिका वडा ५, गुरुवागाउँमा यसर्ष मेला लाग्ने भएको छ । तर, नौटंकी नाच, मदिरा बिक्री  र अन्य डान्स कार्यक्रम भने नहुने भएको छ ।

हरेक बर्ष कात्तिके पुर्णिमाको अवसरमा उक्त स्थानमा तीन दिने मेला लाग्दै आइरहेको छ । यो बर्ष पनि शुक्रबारदेखि आइतबारसम्म तीन दिनको मेला संचालन गरिने मेला व्यवस्थापन समितिका अध्यक्ष तिरथराम कुर्मीले जानकारी दिए ।

पहिला पहिला हरेक बर्षको मेलामा नौटंकी नाच हुने गरेपनि गत दुई बर्ष अघिदेखि कोरोना संक्रमणका कारण मेला पनि व्यवस्थित रुपमा संचालन नगरिएको र नौटंकी नाच पनि नगरिएको उनले जानकारी दिए ।

मेला व्यवस्थापन समितिका अध्यक्ष तिरथराम कुर्मीको अध्यक्षतामा मेला समिती सदस्य तथा इलाका प्रहरी कार्यालय खजुराखुर्दका प्रनानि रुद्रबहादुर रावल र वडा अध्यक्ष रमेशकुमार वर्माको उपस्थितिमा आज बसेको बैठकले नौटंकी नाच र अन्य डान्स कार्यक्रम संचालन नगर्ने निर्णय गरेको स्थानीय मनमोहन वर्माले जानकारी दिए ।

मेलामा रामलीला भने संचालन गरिने व्यवस्थापन समितिका अध्यक्ष कुर्मीले बताए । कोभिड – १९ को सम्पुर्ण स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने, मेला लाग्ने स्थान बिद्यालय भवन वरिपरि ४ सय मिटर क्षेत्रभित्र मादक पदार्थ विक्री वितरण तथा सेवन गर्न नपाइने, ४ सय मिटर क्षेत्र बाहिर संचालन भएका त्यस्ता मदिराजन्य पसल बेलुका ७ बजे अनिवार्य बन्द गर्नुपर्ने, जुवातासजन्य क्रियाकलाप संचालन गर्न नपाइने तथा मेला राती १० बजेसम्म मात्र संचालन गर्न पाइने निर्णय गरिएको उनले जानकारी दिए ।

कात्तिके पुर्णिमाको अवसरमा गुरुवागाउँ लगायत बाँकेका विभिन्न स्थानमा स्थानीय मेलाहरु लाग्ने गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *