प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई विश्वासको मत प्राप्त

बुधबारबारको प्रदेशसभा बैठकमा विश्वासको मत पाउनुभएको मुख्यमन्त्री राजेन्द्र राईले अब सरकार विस्तारको कामलाई अगाडि बढाउनु हुने भएको छ ।

बुधबार प्रदेशसभामा उहाँको पक्षमा ५० सांसदले मत दिनुभएको थियो । ९२ सदस्यीय प्रदेशसभामा उहाँको विपक्षमा २९ मत खसेको थियो । विश्वासको मत पाएसँगै अब राईले सरकार विस्तारलाई जोड दिनु हुने भएको  छ । यसका लागि उहाँले गठबन्धनका पाँच दलसँग छलफलमा जुटिइसक्नु भएको छ ।

यसअघि १६ कार्तिकमा मुख्यमन्त्री नियुक्त हुँदा राईले गठबन्धनका दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चका सांसदलाई मन्त्री बनाएर पाँच सदस्यीय मन्त्रिपरिषद् विस्तार गरिसक्नुभएको छ ।

अबको एक साताभित्र मन्त्रालयहरु थपेर १५ सदस्यीयसम्म मन्त्रिमण्डल बनाउने तयारीमा राई लाग्नुभएको छ ।

नेकपा एकीकृत समाजवादीका नेता राईले मन्त्रिमण्डल विस्तारका लागि पाँच दलका नेताहरुबीच सहमतिको प्रयास गर्नु पर्ने र अगाडि बढ्नु पर्ने बताउँदै आउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *