सुरक्षाकर्मीले नेपालगञ्ज विमानस्थल क्षेत्रभित्रको झाडी सफा गरियो

 

नेपालगञ्ज विमानस्थलभित्रको झाडी (बुट्यान) सफा गरिएको छ ।   विमानस्थल आसपासमा रहेको झाडी हटाएर आज विहान सफाई गरिएको हो ।  नजिकको झाडीमा रहेका बँदेल रनवेमै आएर जहाजसँग ठोक्किन थालेपछि भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्की, नेपाल प्रहरीका एसपी श्यामकृष्ण अधिकारी, सशस्त्र प्रहरीका निरिक्षक नवराज शाहीको कमाण्डमा आज विहान ८ बजेतिर झाडी सफा गरिएको हो । झाडी सफा गर्न नेपाली सेनाका ९० जना, सशस्त्र प्रहरीका ४० र नेपाल प्रहरीका ३० जना गरी १ सय ६० सुरक्षाकर्मी परिचालन भएका थिए ।

झाडीबाट विमानस्थलको रनवेमा बँदेल आउँदा पटक–पटक जहाजमा ठोक्किएको छ । जसले गर्दा जिल्ला प्रशासन कार्यालय बाँकेको अगुवाईमा तीन वटै सुरक्षा निकायका सुरक्षाकर्मीले संयुक्तरुपमा विमानस्थल आसपासमा सरसफाई गरेका हुन् ।  बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्रीको सक्रियता र अगुवाईमा सरसफाई गरिएको हो ।

मंगलबार मात्रै हुम्लाको सिमकोट उड्न थालेको सीता एयरको जहाजमा बँदेल ठोक्किएको थियो । जहाजसँग ठोक्किएका तीन वटा बँदेल मरेको थिए । त्यसअघि बुद्ध र यति एयरका जहाजमा पनि बँदेल ठोक्किसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *