काग तिहार र कुकुर तिहार मनाइदै

कात्तिक कृष्ण चतुर्दशीको दिन हिन्दु धर्मावलम्बीहरुले काग तिहार र कुकुर तिहार मनाएका छन् । सामान्यतया कात्तिक कृष्ण त्रयोदशीको दिन काग तिहारसँगै यमपञ्चक सुरु हुने र दोस्रो दिन कुकुर तिहार पर्ने गर्छ । काग तिहारकै दिन साँझ यमदीप दान गर्ने गरिन्छ । चतुर्दशीको दिन सूर्योदय पूर्व नरक नुहाउने र सूर्योदयपछि कुकुरको पूजा गर्ने गरिन्छ । तर यो साल मंगलबार यमदीप दान गरियो भने बुधबार काग र कुकुरको पूजा गरिने छ । बिहीबार बिहान नरक नुहाइने गरी तिथि निर्देश भएको पञ्चांग निर्णायक विकास समितिले जनाएको छ ।

यस वर्ष कात्तिक कृष्ण त्रयोदशी तिथिको अधिकांश समय रहेपनि सूर्योदयको समयमा त्रयोदशी तिथि नपरेकोले मंगलबार काग तिहार नमनाइएको समितिका सदस्य सचिव सूर्य ढुंगेल बताउँछन् । बुधबार सूर्योदयको समयमा त्रयोदशी तिथि सकिएको थिएन ।

मंगलबार बिहान ८ बजेर ३ मिनेटमा शुरु भएको त्रयोदशी तिथि बुधबार सूर्योदयपछिसम्म कायम रहेको ढुंगेल बताउँछन् । शास्त्रीय मान्यता अनुसार धार्मिक कृत्यको सूर्योदयको समयमा जुन तिथि पर्छ, दिनभर सोही तिथि मानेर कर्म गर्नुपर्छ । सोही मान्यतालाई आधार मानेर सूर्योदय कालमा त्रयोदशी तिथि शुरु नभएकोले मंगलबार कागपूजा नगरिएको पञ्चांग निर्णायक समितिले जनाएको छ । अपमृत्युबाट बच्नको लागि भनेर गरिने यमदीप दान भने सूर्यास्तपछि गरिने भएकोले मंगलबार साँझ नै गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *