एसईई मूल्याङ्कन कार्यविधि विद्यालयेबाट जेठभित्रै हुने

 

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)मा विद्यालयले गर्ने आन्तरिक मूल्याङ्कनको कार्यविधि जेठभित्रै जारी गर्ने तयारी गरिरहेको छ । विद्यालय र शिक्षकलाई विद्यार्थीको आन्तरिक मूल्याङ्कन कसरी गर्ने भनेर नीतिगत रूपमा सहज बनाउन बोर्ड कार्यविधि बनाउने तयारीमा जुटेको हो ।बोर्डका अध्यक्ष प्रा. चन्द्रमणि पौडेलले कार्यविधिका विषयमा छलफल भइरहेको जानकारी दिँदै यसै महिनाभित्र सार्वजनिक गरिने जानकारी दिनुभयो ।

अब कार्यविधि जारी गरेपछि विद्यालयलाई विद्यार्थीको मूल्याङ्कन गरिसक्न दुई साताको समय दिने बोर्डको तयारी छ । विद्यालयद्वारा गरिएको अन्तिम मूल्याङ्कनको विवरण सम्बन्धित जिल्लाको शिक्षा तथा समन्वय इकाइमा पठाउने र समन्वय इकाइले प्रमाणित गरी बोर्डमा पठाउनुपर्ने छ । बोर्डमा देशभरका विद्यालयबाट प्राप्त विवरण अद्यावधिक गरी विद्यार्थीको अन्तिम परीक्षाफल तयारी तथा प्रकाशन, प्रमाणीकरण र प्रमाणपत्र जारी गरिने छ । बोर्डलाई यो काम गर्न २० दिनको हाराहारीमा लाग्ने प्रारम्भिक अनुमान छ । गत वर्ष शिक्षकको आन्तरिक मूल्याङ्कनमा केही समस्या भएको भन्दै बोर्डले परीक्षाफलको प्रकाशनका केही दिन विलम्ब गरेको थियो ।

कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीको अन्तिम मूल्याङ्कन भने विद्यालयले नै गर्नेछन् । सरकारले गत वर्ष नै नीतिगत निर्णय गर्दै विद्यालयलाई यो अधिकार दिइसकेको छ । कक्षा १२ को परीक्षाको विषयमा भने कुनै निर्णय गरिएको छैन । बोर्डले कक्षा १२ को परीक्षा सञ्चालनसमेत वैकल्पिक विधिबाट गर्ने प्रस्ताव गरे पनि सरकारले यस विषयमा कुनै निर्णय गरेको छैन । गत वर्ष कक्षा १२ मा बोर्डले ४० अङ्कको लिखित परीक्षा लिएको थियो । त्यसबाहेक विद्यार्थीको आन्तरिक मूल्याङ्कन र कक्षा ११ को नतिजालाई समेत आधार मानिएको थियो । केही महिना कुरेर भए पनि पुरानै मोडलबाट कक्षा १२ को परीक्षा हुने सम्भावना रहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *