नेपालमा सामुद्रिक आँधी ‘यास’ को प्रभाव शनिबार पर्ने


बंगालको खाडी नजिकै बनेको सामुद्रिक आँधी यास नेपालमा शनिबार आइपुग्ने र बुधबार दिउँसो भारतको जमिनमा आइपुग्दै छ । भारतीय मौसम विभागले बुधबार दिउँसो पश्चिम बंगाल र ओडिसाको बीचमा यास जमिनमा आइपुग्ने बताएको छ ।
मौसम विभागका अनुसार आज दिउँसो यास बालासो र भद्रकको धामरा (पारादीप) को नजिकै भएर जमिनमा आउने छ। जसका कारण १३० देखि १४० किलोमिटर प्रतिघन्टाको गतिमा हावा चल्नेछ।
आँधीको प्रभावका कारण पश्चिम बंगाल, उडिसा र झारखण्ड राज्यका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ। आँधीबाट जोगिन पश्चिम बंगाल र उडिसा १३ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।
यसैबीच यास आँधीको प्रभाव नेपालमा पनि शनिबारसम्म पर्ने देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यास आँधीको प्रभाव नेपालमा पूर्व हुँदै पश्चिमतिर जानेछ। केही स्थानमा भारी वर्षा र हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
यास आँधीबारे विशेष बुलेटिन जारी गर्दै महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ । देशभर शनिबार (१५ गते) सामान्यदेखि पूर्ण बदली रही मेघगर्जन÷चट्याङ÷हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा को सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ तथा उक्त प्रदेशका तराईका भूभागहरूमा उच्च बेगको हावाहुरी तथा अति भारी वर्षाको सम्भावना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *