सुर्खेतमै दैनिक १ सय १५ बढी बिरामीका लागि अक्सिजन आपूर्ति

कोरोना सङ्क्रमितहरुलाई उपचारका लागि अक्सिजनको चरम अभाव भएको बेला सुर्खेतस्थित प्रदेश अस्पतालमा दुई वटा प्लान्टबाट अक्सिजन आपूर्ति गरिएको छ । एउटा पुरानो प्लान्ट र अर्को नयाँ प्लान्ट जडान गरी दैनिक १ सय १५ भन्दा बढी बिरामीका लागि अक्सिजन आपूर्ति गरिएको हो ।

पुरानो प्लान्टबाट १५ जना बिरामीलाई अक्सिजन आपूर्ति गरिएको छ भने नयाँ प्लान्टबाट एक सय बढीलाई आपूर्ति गर्ने तयारी छ । प्रदेश अस्पतालका कोरोना फोकलपर्सन डा. केएन पौडेलले हाललाई अस्पतालमा दुई वटा प्लान्टबाट अक्सिजन आपूर्ति हुँदा बिरामीहरुको उपचार गर्न सहज भएको बताउनुभयो । यद्यपि बिरामीको सङ्ख्या बढ्दै गयो भने यो अक्सिजनले पनि थेग्न नसक्ने उहाँको भनाइ छ ।
सोमबारसम्म प्रदेश अस्पतालमा ७८ जना सङ्क्रमित उपचाररत छन् । तीमध्ये ७४ जनालाई अस्पतालकै प्लान्टबाट अक्सिजन आपूर्ति गरिएको फोकल पर्सन डा. पौडेलले बताउनुभयो । अस्पतालको नयाँ र पुरानो गरी दुवै भवनमा सङ्क्रमितहरु राखेर अक्सिजन आपूर्ति गरिएको छ । पुरानो भवनमा प्लान्टबाट सिधै बिरामीको बेडमा अक्सिजनको पाइप जडान गरिएको छ । प्रदेश अस्पतालमा वैशाख महिना लागे यता दैनिक सातदेखि १० जनासम्म सङ्क्रमितहरु उपचारका लागि आउने गरेका छन् । दुबै अक्सिजन प्लान्टबाट बढीमा १५० जना बिरामीसम्मलाई थेग्न सक्ने जानकारी दिदैं उहाँले योभन्दा बढी भएमा समस्या हुने उल्लेख गर्नुभयो ।

यो बाहेक अस्पतालमा नेपालगन्जदेखि १५० सिलिण्डर अक्सिजन आउने गरेको छ । बाँके पनि कोरोनाबाट अति प्रभावित भएपछि बाँकेबाट सिलिण्डर आउन पनि प्रभावित भइरहेको छ । फोकल पर्सन डा. पौडेलका अनुसार एउटा सङ्क्रमितले दैनिक तीन वटा सिलिण्डर खपत गर्ने गरेका छन् । सङ्क्रमितहरु आउने क्रम बढ्दै गएकोले आपूर्ति बढाउन नसके उपचारमा असर पर्ने उहाँको भनाइ छ ।

गोरखापत्रबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *