समाज विज्ञान र विश्वका कम्युनिस्टका महान गुरु मार्क्सको जन्मदिन

समाज विज्ञान र विश्व कम्युनिस्ट आन्दोलनका महान गुरु तथा वैज्ञानिक साम्यवादका संस्थापक कार्ल मार्क्सको जन्म ५ मे १८१८ को दिन ट्रिर शहरको एक वकिल परिवारमा भएको थियो । कार्ल मार्क्सका पिता हेनरिख मार्क्स फ्रान्सेली विचारकद्वारा प्रभावित व्यक्तित्व थिए । कार्ल मार्क्सकी आमाको नाम हेनरी येट्रर हो ।

सन् १८३० देखि १८३५ सम्म मार्क्सले ट्रिर जिम्नेसियम (स्कुल) मा आफ्नो प्रारम्भिक अध्ययन पूरा गरे । किशोर माक्र्सको बौद्धिक प्रतिभाको प्रस्फुटन त्यस बेला भयो, जुन बेलामा उनले “पैसा छनौटबारे एक किशोरको विचार” भन्ने निबन्ध लेखे । उक्त निबन्ध प्रवोधन कालको प्रगतिशील विचारधाराद्वारा ओतप्रोत छ ।

अक्टोवर १८३५ मा मार्क्स बोन विश्वविद्यालयमा भर्ना भए । उनले आफूले अध्ययन गर्ने विषय कानून विभाग रोजे । विश्वविद्यालयमा मार्क्स कानूनशास्त्रको साथै साहित्य, नवीनतम् कला, इतिहास र सौन्दर्यशास्त्रको पनि अध्ययन गर्न पछि परेनन् । बर्लिन विश्वविद्यालयमा वैज्ञानिक अध्ययन र बौद्धिक विकासका लागि बढी सुविधा भएको हुनाले मार्क्स बोनमा एक वर्ष अध्ययन गरेपछि बर्लिन विश्वविद्यालयमा आफूलाई भर्ना गरे ।

बर्लिनमा मार्क्स निकै परिश्रम गर्न पछि परेनन्, जसको फलस्वरुप उनको बौद्धिक विकास पनि तीब्र गतिले हुन थाल्यो । बर्लिनमा मार्क्स कलेजको अध्ययनको अलावा स्वतन्त्र अध्ययनमा पनि व्यस्त थिए, जसअन्तर्गत उनले मूख्यतयः दर्शनशास्त्र र इतिहासको अध्ययन गरे । मार्क्सले साहित्य र कलाको पनि गहन अध्ययन गर्न थाले, अंग्रेजी र इटालियन भाषा पनि सिक्न थाले । छोटै समयमा मार्क्स बौद्धिक व्यक्तित्व बन्न सफल भए ।

बर्लिन जानुपूर्व मार्क्सले सन् १८३६ को गृष्म कालमा जेनी फोन वेस्टफालेनसँग विवाह बन्धनमा जोडिए । जेनी अभिजात वर्गकी युवती थिइन् । तसर्थ जेनीका बुबा आमाले यस विवाहलाई अस्विकार गर्न सक्ने सम्भावना थियो । जेनी असाध्यै राम्री युवती थिइन्, भने मार्क्स बौद्धिक प्रतिभा थिए । मार्क्स सामान्य परिवारमा हुर्केका थिए, उनी असाध्यै गरीब परिवारका थिए । तथापि, जेनीले मार्क्सलाई पूर्ण रुपमा साथ दिइन् । जेनी वेस्टफालेन अत्यन्तै गुणी नारी थिइन् । जेनीको तीक्ष्ण बुद्धि सुशीलता र उत्कृष्ट आचरणले मार्क्सलाई खुसी तुल्याएकी थिइन् । त्यही गुणले उनले पनि मार्क्सजस्तो महान् व्यक्तित्वलाई जीवनसाथी रोजिन् ।

कार्ल मार्क्सले विद्यावारिधिको थेसिस ‘डेमोक्रिटसको प्रकृति दर्शन र एपिक्युरको प्रकृति दर्शन बीचको भेद’ विषयमा तयार पारेका थिए । यो नै मार्क्सको पहिलो वैज्ञानिक कृति थियो । जुन आध्यात्मवादी चिन्तनमाथिको खोज थियो । प्रोइसेन राजधानीमा रहेको विश्वविद्यालयमा आफ्नो थेसिसको वास्तविक मुल्याङ्कन हुन सक्दैन भन्ने कुरा मार्क्सले देखिसकेका थिए । तसर्थ उनले इयेना विश्वविद्यालयमा आफ्नो थेसिस पठाए र अप्रिल १८४१ मा दर्शनशास्त्रको विद्यावारिधि (डक्ट्रेट) को उपाधि प्राप्त गरे । उक्त थेसिस मार्क्सको दर्शन शास्त्रमा अब्बलता प्रमाणित गर्ने कृति बन्यो ।

सबैभन्दा प्रगतिशील र सबैभन्दा शोषित वर्गको हितार्थ आफ्नो जीवन अर्पण गर्ने अठोट गरेका मार्क्सले फ्रेडरिक एङ्गेल्सको रुपमा आफ्नै जस्तो विचारधारा भएको एक अति भरपर्दो सहयोगी र साथी भेट्टाए । माक्र्सभन्दा दुई वर्ष कान्छा एङ्गेल्सको जन्म राइन प्रान्तको बार्मेन शहरमा भएको थियो ।

‘राजनीतिक अर्थशास्त्रको आलोचनाबारे केही खेस्राहरु’ शीर्षक एङ्गेल्सको कृतिसँग मार्क्सको परिचयपछि उनीहरु बीच पत्र–व्यवहार सुरु भयो । अगस्त १८४४ मा बेलायतबाट जर्मनी फर्कंदा एङ्गेल्सले पेरिसमा मार्क्ससँग भेट गरे । दश दिनको उनीहरुको यस संसर्गबारे एङ्गेल्सले स्मरण गरेका छन्, “सबै सैद्धान्तिक क्षेत्रमा हाम्रो पूर्ण रुपमा एकरुपता देखा पर्यो र त्यसै बेलादेखि हाम्रो संयुक्त कार्य पनि सुरु भयो ।”

मार्क्स र एङ्गेल्सको यस ऐतिहासिक भेटले एक असाधारण मित्रता र दुई दिग्गजहरुको सहयोगको थालनी गर्यो । यस सहयोगले मजदुर वर्गलाई वैज्ञानिक क्रान्तिकारी सिद्धान्तद्वारा सुसज्जित पारेको थियो, सर्वहारा पार्टीको रणनीतितिर कार्यनीतिको जग बसालेको थियो ।

मार्क्स र एङ्गेल्स विश्व कम्युनिस्ट आन्दोलनका मार्गदर्शक हुन् । उनीहरुले देखाएको मार्गमा विश्वभरका कम्युनिस्टहरु हिँडिरहेका छन् । विश्व कम्युनिस्ट आन्दोलनमा कार्ल मार्क्सको सर्वाधिक योगदान रहेको छ । उनले आफ्ना सहकर्मी एङ्गेल्ससँग मिलेर विश्व कम्युनिष्ट आन्दोलनको घोषणापत्र, पूँजी लगायत दर्जनौँ ऐतिहासिक कृतिहरु तयार पारे, जुन कृति साम्यवादी आन्दोलनमा लाग्नेहरुका लागि मार्गदर्शन बने ।

मार्क्सको निधन सन् १८८३ मा भयो । हाल मार्क्सको निधन भएको १३५ वर्ष बितिसकेको छ । तथापि उनको मार्गदर्शक सिद्धान्त विश्वभरका कम्युनिष्टहरुका लागि प्रेरणाको स्रोत बनेको छ । सर्वहारा वर्गको मुक्तिका लागि सशस्त्र संघर्षको सिद्धान्त प्रतिपादन गरेका मार्क्सको अतिरिक्त मूल्यको सिद्धान्तलाई आजसम्म विश्वका कुनै पनि विद्धान र दार्शनिकले खण्डन गर्न सकेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *