कोरोनाबाट भारतमा दैनिकजसो तीन जना पत्रकारको निधन

स्वीट्जरल्यान्डस्थित पत्रकार सुरक्षा तथा अधिकारसम्बन्धी काम गर्ने संस्था ‘प्रेस एमब्लेम क्याम्पियन (पीईसी)ले कोरोनाबाट सञ्चारक्षेत्रमा गम्भीर असर परेको जनाएको छ। विश्व प्रेस स्वत्रन्त्रता दिवसको पूर्वसन्ध्यामा पीईसीले जारी गरेको एक रिपोर्टमा कोरोनाबाट संसारका ७५ देशमा एक हजार २०० पत्रकारले ज्यान गुमाएको उल्लेख छ।

पछिल्लो समय सबैभन्दा बढी भारतमा पत्रकारले ज्यान गुमाइरहेका छन्। दुई साता मात्रै भारतमा ५० पत्रकारको मृत्यु भएको रिपोर्टमा जनाइएको छ।

शुक्रबार मात्रै पत्रकार रोहित सरदानाको मृत्यु भएको छ। उनलाई केही दिनअघि कोरोना संक्रमण भएको थियो। बिहीबार राति अवस्था गम्भीर भएपछि दिल्लीको नोयडास्थित मेट्रो अस्पताल भर्ना गरिएको थियो। उनको उपचारका क्रममै आज दिउँसो मृत्यु भएको हो। उनी आजतकमा कार्यरत थिए।

यही साता भारतमा चर्चित पत्रकारहरूको ज्यान गएको छ। पत्रकारहरू निलाक्षी भट्टाचार्य, आयुष्मान दत्त, भानुप्रकाश राठ, मानस रञ्जन जयपुरिया, ककोली भट्टाचार्य, श्रीधर धर्मसनम, राजु मिश्रको ज्यान गएको पीईसीले जनाएको छ। भारतमा अहिले दैनिकजसो तीन जना पत्रकारको ज्यान गइरहेको रिपोर्टमा उल्लेख छ।

कोरोना महामारीबाट यो एक महीनामा मात्रै संसारभर १२६ पत्रकारको ज्यान गएको छ। महामारीयताको १४ महीनाको अवधिमा ज्यान गुमाउने एक हजार २०० पत्रकारमा सबैभन्दा बढी ब्राजिलमा १८३ जना रहेका छन्। त्यस्तै, पेरुमा १४०, भारतमा १२२ र मेक्सिकोमा १०६ जनाको मृत्यु भएको छ।

पीईसीका अनुसार, ल्याटिन अमेरिकाका २० देशमा ६७३, एसियाका १८ देशमा २५६, युरोपका १९ देशमा १७५, अफ्रिाकाका १६ देशमा ५६, उत्तर अमेरिकाका दुई देशमा ४७ जना पत्रकारको मृत्यु भएको छ।

पछिल्लो समय भारतमा संक्रमण बढेसँगै पत्रकार संक्रमित हुने र ज्यान गुमाउने क्रम बढेको छ। भारतसँगै छिमेकी देशमा पनि थुप्रै पत्रकारले ज्यान गुमाएको पीईसीको रिपोर्टमा उल्लेख छ।

रिपोर्ट अनुसार, भारतमा १२२ जनाले ज्यान गुमाएका छन्। त्यस्तै, बाङ्लादेशमा ५२, पाकिस्तानमा २६, अफगानिस्तामा नौ र नेपालमा सात जना पत्रकारको ज्यान गएको पीईसीले जनाएको छ।

थप सामग्री : https://www.himalkhabar.com/news/123123

Leave a Reply

Your email address will not be published. Required fields are marked *