बाँकेकाे शमशेरगन्जमा घाटगद्दीमा राखिएकाे तीन चट्टा काठ जलेर नष्ट

बाँकेको राप्तिसोनारी गाउँपालिका वडा नम्बर ८ शमशेरगन्जस्थित घाटगद्दीस्थानमा बुधबार आगलागी हुँदा घाटगद्दी गरेर राखिएका केही चट्टा दाउरा जलेर नष्ट भएको छ । आगलागीबाट घाटगद्दी गरेर राखिएका अन्य जातका दाउरा तीन चट्टा पुर्ण रुपमा जलेर नष्ट भएको र अरु तीन चट्टा दाउरामा सामान्य क्षति भएको डिभिजन वन कार्यालय बाँकेका डिभिजनल वन अधिकृत राजु क्षेत्रीले जानकारी दिनु भयाे ।

बाँके राष्ट्रिय निकुन्ज कार्यालयको सामुन्नेमा रहेको उक्त घाटगद्दीस्थानमा आगलागी भएको भन्ने बुधबार बिहान ११ बजेतिर आफुले जानकारी पाएको र जानकारी पाउनासाथ आफू उक्त स्थानमा पुगी आगलागी नियन्त्रण गरेको उहाँले जानकारी दिनु भयाे। नेपालगन्ज उपमहानगरपालिकाको दमकल, कोहलपुर नगरपालिकाको दमकल, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र वन रक्षक, वन कर्मचारी, वन हेरालु तथा स्थानीयको सहयोगमा उक्त आगो दिउँसो ४ बजेतिर नियन्त्रणमा आएको वन अधिकृत क्षेत्रीले जानकारी दिनु भयाे । समयमै सबैको प्रयासमा आगो नियन्त्रणमा आएको हुँदा सम्भाबित थप क्षति हुनबाट बचेको छ ।

उक्त घाटगद्दीस्थानमा बैज्ञानिक बन व्यवस्थापन कार्यक्रम अन्तर्गत राष्ट्रिय वनमा कटान गरिएका करोडौं मूल्य बराबरका काठ दाउराहरु घाटगद्दी गरेर राखिएको छ । वरिपरि रहेको जङ्गल क्षेत्रमा भने आगो लागेको छैन । जहाँ घाटगद्दी गरेर राखिएको छ सोही स्थानको दाउराको चट्टामा मात्र आगलागी हुनु शंकास्पद देखिएको छ । आगलागी के कसरी भयो भन्ने बारेमा अनुसन्धान शुरु गरिएको र थप कुराहरु अनुसन्धानपछि खुल्ने वन अधिकृत क्षेत्रीले जानकारी दिनु भयाे । आगलागी भएको उक्त स्थानको नजिकै बाँके राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय तथा शमसेरगन्ज सव-डिभिजन वन कार्यालयको कार्यालय रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *