दक्षिण एसियाकै पहिलो कम्युनिस्ट प्रधानमन्त्री एवं नेकपा (एमाले) का पहिलो अध्यक्ष मनमोहन अधिकारीको २२ औं स्मृति दिवसमा नेकपा एमालेले कोरोना संक्रमणका कारण विशेष कार्यक्रम नहुने भएका छन । मनमोहन अधिकारी नेपालको कम्युनिस्ट आन्दोलनका पहिलो पुस्ताका शीर्ष नेता हुनु हुन्थ्यो । अधिकारीको ०५६ साल वैशाख १३ गते चुनावी अभियानकै सिलसिलामा निधन भएको थियो ।
अधिकारी २०१० सालमा सम्पन्न नेपाल कम्युनिस्ट पार्टीको पहिलो महाधिवेशनबाट महासचिव निर्वाचित हुनु भएको थियो ।
नेपालको वाम तथा प्रजातान्त्रिक आन्दोलनका पहिलो पुस्ताका शिखर पुरुष अधिकारीले नेपालको इतिहासकै स्वच्छ प्रधानमन्त्रीका रुपमा ९ महिने सरकारको नेतृत्व गर्नु भएको थियो ।
मनमोहन नेतृत्वको सरकारले नेपालमा पहिलोपटक सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत ७५ वर्ष पूरा भएका वृद्धवृद्धालाई मासिक भत्ताको व्यवस्था गरेको थियो । तत्कालीन नेकपा माले र नेकपा मार्कस्वादीको एकीकरण भई ०४७ सालमा नेकपा एमाले निर्माण भएपछि मनमोहन एमालेको अध्यक्ष बन्नु भएको थियो । उहाँको जीवन पर्यन्त एमालेको अध्यक्ष रहनु भयो । मनमोहनको निधनपछि एमालेले अध्यक्ष पद खाली राखेको थियो । ०६५ को आठौं महाधिवेशनबाट मात्र एमालेले अध्यक्षको व्यवस्था गरेको थियो ।
नेपालको कम्युनिस्ट आन्दोलनलाई लोकतान्त्रिकीकरण गर्नमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नु भएका अधिकारीले अंग्रेजविरुद्धको भारतीय स्वतन्त्रता संग्राममा समेत भाग लिनु भएको थियो । २००३ सालमा बिराटनगरमा भएको ऐतिहासिक मजदुर आन्दोलनको नेतृत्व गरेका अधिकारी नेपालको पहिलो मजदूर नेता पनि हुनु हुन्छ ।करीब ६ दशक नेपाल कम्युनिस्ट पार्टीको नेताका रूपमा राजनीतिक आन्दोलनको नेतृत्व गरेका अधिकारीले पटक–पटक गरी करीब १७ वर्ष लामो कठोर जेल जीवन बिताउनु भएको थियो ।
२०५६ सालको आम निर्वाचनका क्रममा काठमाडौंको गोठाटारमा आयोजित एक कार्यक्रममा अचानक बेहोस भएपछि उपचारकै क्रममा ०५६ वैशाख १३ गते अधिकारीको निधन भएको थियो । अधिकारी त्यस निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ र ३ बाट एमालेका उम्मेदवार बनाएको थियो ।
अधिकारी ०४८ सालको आम निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ बाट निर्वाचित हुनु भएको थियो भने ०५१ सालको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ३ बाट निर्वाचित भई प्रधानमन्त्री बन्नु भएको थियो ।