
बाँकेको जानकी गाउँपालिकाले ५० वेडको आइसोलेसन सेन्टर(कोभिड–१९ संक्रमित उपचार केन्द्र) निर्माण गर्ने भएको छ । गाउँपालिकाको वडा नं. ६ मा रहेको खुल्ला कारागारका लागि निर्माण गरिएका २ वटा भवनमा सो सेन्टर निर्माण गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले जानकारी दिनु भयो ।
प्रशासकीय अधिकृत रानाका अनुसार आइसोलेसन सेन्टर निर्माणका लागि कार्यपालिकाको बैठकले बैशाख ४ गते निर्णय गरेको थियो । सो स्थानको अनुगमन बैशाख ११ गते जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी शिवराज गेलालको नेतृत्वको टोलीले समेत स्थलगत अध्ययन गरी सो स्थानमा आइसोलेसन सेन्टर स्थापना गर्न निर्णय भएको जानकारी रानाले दिनु भयो ।
खुल्ला कारागार निर्माणधिन स्थानमा २ वटा भवन रहेको र ३६ वटा कोठा प्रयोगमा ल्याउन सकिने भएको छ । निर्माण कम्पनीलाई १३ गते सम्म आवश्यक सम्पूर्ण निर्माणका कार्य गर्न ताकेता गरिएको छ । यही १५ गते देखि कोरोना संक्रमितलाई अक्सिजन सहितको सेवा संचालनका लागि तयारी गर्न लागिएको उहाँ बताउनु भयो । गाउँपालिकाको आज बसेको बैठकले कोभिड–१९ संक्रमित उपचार केन्दमा आवश्यक पर्ने सम्पूर्ण पूर्वाधार, स्वास्थ्य सामाग्री, सहित १० वटा अक्सिजनका सिलिण्डर खरिद गर्ने निर्णय समेत भएको उहाँ जानकारी दिनु भयो ।
यसका साथै गाउँपालिका भित्रमा हाल कुनैपनि व्यक्ति आइसोलेसनमा नबसेको रानाले बताउनु भयो । नागरिक सचेतनाका लागि वडाका सबै स्वास्थ्य कार्यालयहरुलाई निर्देशन समेत गरिएको जानकारी दिनु भयो ।