नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय तथा महाधिवेशन आयोजक कमिटी बैठकले कोभिड १९ संक्रमितहरुलाई सहयोग गर्न जिल्ला तथा गाउँमा जनजागरण अभियान चलाउने निर्णय गरेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज आइतबार बसेको बैठकले सो आव्हान गरेको हो । जिल्ला जिल्लामा हेल्प डेस्क राख्ने, गाउँ गाउँमा जागरण अभियान चलाउने, स्थानीय तह र जिल्लाको कोभिड म्यानेजमेन्ट सेन्टरसँग मिलेर अभियान चलाउन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिनुभएको पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले बताउनुभयो ।
अक्सिन प्लान्टलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने, खोपलाई विस्तार गर्ने विषयमा समेत प्रधानमन्त्री ओलीले निर्देशन दिनुभएको प्रवक्ता ज्ञवालीले बताउनुभयो । कोभिड १९ बढ्दै गएपनि तत्काल लकडाउन गर्ने पक्षमा सरकार नरहेको उहाँले बताउनुभयो । सकभर अर्थतन्त्रमा प्रतिकुल असर नपरोस् भन्दै ‘हट स्पट’ भएको ठाउँमा भने लकडाउन हुन सक्ने प्रवक्ता ज्ञवालीले बताउनुभयो ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघिको बैठकको निर्णय र निस्कर्षबारेमा केन्द्रीय सदस्यहरुलाई जानकारी गराउनुभएको पार्टी प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो ।