आज नेपालमा कम्युनिस्ट स्थापना दिवस, २००६ सालदेखि हालसम्म हाराेह अवराेह

आज विभिन्न कार्यक्रम गरी कम्युनिस्ट स्थापना दिवस मनाउँदै छन् ।  वि.सं. २००६ साल वैशाख ९ गते स्थापना भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अहिले झांगिएर निकै समृद्ध भइसकेको छ । ७० वर्षअघि यो कम्युनिस्ट पार्टी सर्वहारा वर्गको अधिनायकत्व स्थापना गर्न गठन भएको हो । उनीहरुको यो चाहना त अझै पूरा भएको छैन बरु महान लक्ष्य बोकेका कम्युनिस्टहरु नै विभिन्न चिरा र विवादमा चोइटिएका छन् । नेपालको कम्युनिस्ट आन्दोलनले सात दशकदेखि निरन्तर भोगेको नियति हो– गुट र फुट ।

भारतको कलकत्तामा डिजाइन गरिएको नेपाली कम्युनिस्ट पार्टीको इतिहासले सात दशक पार गरिसकेको छ । यो ७ दशकमा कम्युनिस्ट विचार र सिद्धान्त मान्ने नेपालीको संख्या पनि बढेकै देखिन्छ । संसदमा रहेका हुन् वा सडक आन्दोलनमा, यी कम्युनिस्ट पार्टीहरुले नाम, झण्डा वा घोषणापत्रमध्ये कुनै न कुनैमा माक्र्सवाद, लेनिनवाद वा माओवादको साहारा लिएकै छन् ।

माक्र्सवाद, लेनिनवादको सिद्धान्तलाई पनि दलैपिच्छेको बुझाइ पृथक छ । तर, माक्र्स र लेनिनले प्रतिपादन गरेका राजनीतिक, आर्थिक सिद्धान्त र अभ्यास सबैका लागि एउटै भएर पनि आरोप–प्रत्यारोपमै उनीहरु समय बिताइरहेका छन् ।

विश्वका मजदुरलाई एक पार्ने सपना बोकेर हिंडेको नेपाली कम्युनिस्ट आन्दोलन अहिले ७० बर्Èको बृद्ध अवस्थामा फरक–फरक कार्यदिशा बोकेर हिडिरहेका छन् । नेपालमा स्थापना भएको एउटा कम्युनिस्ट पार्टीबाट अहिले आफना स्वार्थ पुरा गर्न फुट गुट र उपगुटले गाँजेको छ जसले नेपालको कम्युनिस्ट पार्टी मिल्नुभन्दा फुट्नमै जोडबल गरिरहेका छन् ।

२०४९ देखि जनताको बहुदलीय जनवादको नारा बोकेको नेकपा एमाले र एक्काइसौं शताब्दीको जनवादमा बहुदलीय प्रतिस्पर्धात्मक प्रणालीलाई अपनाएर अगाडि बढेको नेकपा माओवादी केन्द्रबीच एकता भई नेपाल कम्युनिस्ट पार्टी नेकपा गठन भएको छ । यी दुबै दल एक भएपछि संघीय संसदमा बहुमत बढी सदस्य छन् । यिनीहरुकै नेतृत्वमा वामपन्थी सरकार देशमा छ । यतिमात्रै होइन ७ प्रदेशमध्ये ६ प्रदेशमा पनि यही दलको नेतृत्वमा सरकार छ ।

क्रान्तिका विचार र आदर्शलाई पछ्याए पनि प्रजातान्त्रिक प्रकृयाबाट कम्युनिस्टहरु बाहिर बसेनन् । नेपालको संसदीय इतिहासका सबै कालखण्डमा संसदमा कम्युनिस्टहरुको उपस्थिति पाइन्छ । २०१५ सालको चुनावमा ४ सिटमात्र जितेको नेपालको कम्युनिस्ट पार्टीले २०५१ सालमा सबैभन्दा ठूलो पार्टीको रुपमा पनि संसदमा पुग्यो । संसदको ठूलो पार्टी भए पनि आवश्यक बहुमत भने थिएन, त्यसैले नेकपा एमालेले ९ महिनासम्म अल्पमतको सरकारको नेतृत्व पनि गर्‍यो ।

२०६४ मा भएको संविधानसभा चुनावमा सबैभन्दा ठूलो, तेस्रो ठूलोदेखि केही सिट भएका पार्टीहरु संविधान लेख्ने जिम्मासहित संविधानसभामा पुगेका थिए । दोश्रो संविधानसभाको चुनावमा दोश्रो र तेश्रो दलसहित उपस्थिति जनाएका नेपाली कम्युनिस्ट खासमा प्रवृत्ति हो वा विचार ? के माक्र्सवाद, लेनिनवाद वा माओवादका सिद्धान्त र व्याख्या दल र नेता पिच्छे फरक हुनसक्छ ।

नेपालमा कम्युनिस्ट आन्दोलन

अप्रिल २२ मा लेनिन जन्मिएको दिनमै जन्मिएको थियो– नेपालमा कम्युनिस्ट पार्टी । वि.सं. २००६ सालमा पुष्पलाल श्रेष्ठ, निरन्जन गोविन्द बैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्यलगायतको पहलमा नेपाल कम्युनिस्ट पार्टी स्थापना भयो ।

भारतको कलकत्तामा बनेको नेपाल कम्युनिस्ट पार्टीले त्यसपछिका वर्षमा नेपालभित्र र प्रवासबाट पनि माक्र्सवाद र लेनिनवादका विचारलाई आत्मसाथ गर्दै अनेकन आरोह–अवरोह पार गर्‍यो । नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको सात दशक पुगेको छ । यो सात दशक लामो इतिहास र वैचारिक यात्रामा नेपालको कम्युनिस्ट आन्दोलनले अनेकन आरोह–अवरोह, विवाद र टुटफुट झेलेको छ ।

नेपालको कम्युनिस्ट आन्दोलनमा पार्टी स्थापनाको मिति र संस्थापक सदस्यको विÈयबाट शुरु भएको विवाद सिद्धान्तसम्म जोडिएको छ । सन् १९४९, २२ अप्रिलमा स्थापना भए पनि सेप्टेम्बर १५ मा नेकपाको पहिलो घोÈणा–पत्र जारी गरिएको थियो । कतिपय पार्टीहरुले घोÈणापत्र जारी भएको दिनलाई पार्टी स्थापना दिवसको दावी पनि गर्ने गरेका छन् ।

स्थापनादेखि नै विवादको भूमरीमा

स्थापनाको दुई वर्ष काट्दा नकाट्दै विवादको घेरामा पुगेको नेपाल कम्युनिस्ट पार्टी २००८ सालमा दुई चिरामा विभाजित भयो । संस्थापक महासचिव पुष्पलाल श्रेष्ठले उठाएको विवादको घेरालाई बढावा दिंदै गंगालाल, माणिकलाल श्रेष्ठ, भुवनलाल प्रधान आदिले लाल कम्युनिस्ट पार्टीको स्थापना गरेका थिए ।

यद्यपि कम्युनिस्ट पार्टीको विधिवत विभाजन दोस्रो महाधिवेशनबाट महासचिव छानिएका डा. केशरजंग रायमाझीको राजावादी झुकावका विरुद्ध विद्रोहको झण्डा उठाउने कामको नेतृत्व पुष्पलालले नै गरेका थिए ।

कम्युनिस्ट नेताहरुमा एकले अर्काेलाई बदनाम गर्ने र आफू चर्चामा आउने रोग निकै पूरानो हो । कुनै बेला संस्थापक महासचिव पुष्पलाललाई ‘गद्दार’, निर्मल लामालाई ‘सीआइडी’ को आरोप पनि नलागेको होइन । यी नेताहरुलाई आरोप लगाउने मोहनविक्रम सिंहलाई पनि निर्मल लामाले दरवारको सल्लाहकारको आरोप लगाएकै हुन् ।

विक्रम सम्वत् २०१९ सालको तेश्रो महाधिवेशनसम्म नेपालमा एउटा मात्र कम्युनिस्ट पार्टी थियो । तेश्रो महाधिवेशनपछि नेकपा थुप्रै गुट उपगुटमा विभाजन भयो । तेश्रो महाधिवेशनबाट महासचिवको रुपमा निर्वाचित तुल्सीलाल अमात्यले शोभियत संशोधनवादी धारा अंगालेको आरोपमा २०२४ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलालले अलग्गै राष्ट्रिय सम्मेलन गरे ।

तेश्रो महाधिवेशनबाटै अलग्गिएका केशरजंग रायमाझीले पञ्चायतको सेवा गर्ने कम्युनिस्ट पार्टी गठन गर्न पुगे । विसं. २०२८ सालमा झापाली समूहले झापा विद्रोह गरेका थिए । यही बिचमा २०३१ सालमा नेकपाले चौथो महाधिवेशन सम्पन्न गर्‍यो ।

चौथो महाधिवेशनबाट निर्वाचित कम्युनिस्ट पार्टी २०३० को दशकभरी नेपालको सबैभन्दा शक्तिशाली कम्युनिस्ट पार्टी मानिएको थियो । सोही समय झापा आन्दोलनका कम्युनिस्टलगायत विभिन्न दलसंग एकता गर्दै २०३६ सालमा नेकपा माले गठन भयो ।

फुट र जुटको दोसाँधबाट अघि बढेको नेपाली कम्युनिस्ट आन्दोलन २०४६ साल सम्म आइपुग्दा १२ वटा वाम समूहहरु अस्तित्वमा रहेका थिए । जसमा माक्र्सवादी, माले, नेकपा चौथो महाधिवेशन, नेकपा वर्मा, नेकपा मानन्धर, नेकपा अमात्य, नेकपा मसाल, नेकपा मशाल, नेपाल मजदुर किसान पार्टी रोहित, सर्वहारावादी श्रमिक संगठन नेपाल रुपलाल विश्वकर्मा, नेपाल माक्र्सवादी लेनिनवादी (कृष्णदास) र शम्भुराम समुह प्रमुख हुन ।

विसं. २०४७ सालमा नेकपा माले र माक्र्सवादीको एकीकरण भइ नेकपा एमाले गठन भएको थियो । २०४० को दशकमा मलास पार्टी फुटेर मोटो ‘मशाल’ र पातलो ‘मसाल’ बने । त्यही मोटो मशालका तत्कालीन महासचिव पुष्पकमल दाहालको नेतृत्वमा माक्र्सवादका अर्का अभ्यासकर्ता माओको विचार र अभ्याससहित २०५२ मा जनयुद्धको नीति थालियो ।

अनेक गुट र समूहमा विभाजित भए पनि सबै समूहले माक्र्स, लेनिन, माओजस्ता कम्युनिस्ट सिद्धान्तका विचार र अभ्यासलाई पुच्छर बनाइरहे । लेनिन वा माओ मोडेलको क्रान्ति मात्र होइन, बहुदलीय प्रजातन्त्रतर्फ पनि नेपालका कम्युनिस्टहरुको झुकाव स्थापनाको पहिलो दशकदेखि नै पाइन्छ ।

त्यसो त संसद्मा पुग्न नसकेका अनेकन समूह कम्युनिस्ट विचारक नेताका नामको पुच्छर झुँड्याएर पार्टीकै रुपमा अस्तित्वमा छन् ।

यसरी जन्मिदै विवादकासाथ जन्मीएको कम्युनिस्ट पार्टीको नियती अझै पनि गुट, फुट र टुटमै बितेको छ । फुट्न जान्ने जुट्न नजान्ने अनौठो रोगबाट नेपालको कम्युनिस्ट इतिहास ग्रसित छ । अरुले नभएर आफ्नै  सहकर्मीहरुको त्रासले नेताहरुको राजनीतिक भविष्य धरापमा पर्दै आएको छ ।

कम्युनिस्टहरु विज्ञानमा विश्वास गर्छन् । विज्ञानले सबैभन्दा शक्तिशाली अणुलाई स्वीकार्छ अर्थात अणु वस्तुको सबैभन्दा सानो अंश हो । यसकारण पनि कम्युनिस्टहरु टुक्रा टुक्रा हुन्छन् भन्ने भनाइलाई नेपालको कम्युनिस्ट आन्दोलनले पुष्टि गर्दै आएको छ ।

एउटा क्रान्तिकारी पार्टीमा दुई लाईन संघर्ष अनिवार्य हुनुपर्छ भन्ने मान्यता बोक्ने कम्युनिस्टहरु व्यक्तिवाद र संकीर्णताका कारण फुट्ने गरेको इतिहास छ । अझै भन्ने हो भने नेपालका कम्युनिस्टहरु स्थापनाकालदेखि नै चीन र रुसलाई हेर्ने दृष्टिकोणका कारण मात्र होइन, माओ र स्टालिन, सशस्त्र क्रान्ति र शान्तिपूर्ण जनआन्दोलन वा विद्रोहका नाममा समेत विभाजित भइरहेका छन् ।

‘नेपालका कम्युनिस्ट सिद्धान्त भन्दा व्यक्तिगत स्वार्थमा पूर्तिमा उद्यत छन्, जसको कारण स्वार्थ पूर्तिको लागि बेल फुटाए जसै गरी पार्टी फुटाउन पछि पर्दैनन् ।’

भारत परस्तको विशेषण अझ खतरनाक रोगका रुपमा नेपालको कम्युनिस्ट आन्दोलनमा झाँगिएको ऐंजेरु हो भन्दा फरक पर्दैन । यी विषयलाई सैद्धान्तिक बनाएर विभाजित हुने गरेका कम्युनिस्टहरु सारमा व्यक्तिगत टकराव, इलाकीय दृष्टिकोण, गुटगत मानसिकता र सत्तालिप्सा नै प्रमुख रहेको इतिहासले प्रमाणित गरिसकेको छ ।

‘नेतृत्व केन्द्रीकृत र संकीर्ण बनिदिँदा समस्या आउँछ, त्यही समस्या बढ्दा पार्टीमा विभाजन देखिन्छ ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *