बाँकेमा थप दुई जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु

बाँकेमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। बाँकेको कोहलपुर नगरपालिकाका दुई जना सङ्क्रमितको नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।
केन्द्रका अनुसार मृत्यु हुनेहरुमा कोहलपुर–२ बर्दहवाकी ३५ वर्षीया महिला र सोही वडाकै ७७ वर्षीय पुरुष छन् । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार ३५ वर्षीया महिलाको सोमबार दिउँसो नै नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारकै क्रममा मृत्यु भए पनि उनको पीसीआर रिपोर्ट भने राती मात्र पोजेटिभ भनेर आएको थियो ।
स्वास्थ्य समस्या आएपछि उनलाई सोमबार बिहान मात्र मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । तर पीसीआर रिपोर्ट नआउँदै उनको मृत्यु भएपनि पीसीआर रिपोर्ट आइसकेपछि गएराती मात्रै उनको मृत्यु बारे जानकारी सार्वजनिक गरिएको थियो ।
यसैगरि गए राती नै कोहलपुर–२ का ७७ वर्षीय सङ्क्रमित पुरुषको पनि मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि उनलाई उपचारका लागि सोमबार बिहान मेडिकल कलेज पुरयाइएको थियो ।
पीसीआर परीक्षणको लागि स्वाब दिएर घर लगिएपछि साँझ रिपोर्ट पोजिटिभ आएकोले उपचारका लागि अस्पताल ल्याउँदै गर्दा अस्पतालको गेटैमा उनको मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन ओलीले बताउनुभयो । उहाँले योसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या बाँकेमा ६३ जना पुगेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *