डिजिटल ल्याण्ड म्यानेजमेन्ट सुरुवात गर्ने नेपाल पहिलो हाे : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओली काठमाडौँको मीनभवनस्थित नापी विभागमा बिहीबार अनलाइन प्रणालीमार्फत सेवा प्रवाहको शुभारम्भ समारोहलाई सम्बोधन गर्दै ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले एक वर्षमा विकास निर्माणसँगै डिजिटल नेपालको क्षेत्रमा समेत तीव्र विकास गरेको बताउनुभएको छ ।

बिहिबार अनलाइन ल्याण्ड म्यानेजमेन्ट सिस्टमका दुई वटा सफ्टवेयर ‘ल्याण्ड इन्फरमेसन सिस्टम’ तथा ‘मेरो कित्ता’ को औपचारिक उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले नेपाललाई डिजिटलको युगमा लान सरकार लागि परेको बताउनुभयो ।

नेपाललाई प्रविधिको युगमा लानका लागि सकेसम्म आफ्नै प्रविधिको विकास गरिने र नभएका प्रविधिलाई अन्यत्रबाट ल्याएर भएपनि त्यो लक्ष्य पुरा गरिने प्रधानमन्त्रीले बताउनुभयो । ‘हाम्रा उद्देश्यहरू पुरा गर्नका लागि हामी नयाँ नयाँ प्रविधिको प्रयोग र विकास गर्नेछौँ । आफूले गर्न नसकेका प्रविधि आयात गरेर ल्याउँछौ ।’प्रधानमन्त्रीले बताउनुभयो । सरकारले लगानी र प्रविधिलाई आयात गर्न रुची राखेपनि अन्य कुरा आयात गर्न भने रुची नराख्ने बताउनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल ल्याण्ड म्यानेजमेन्ट सिस्टमको सुरुवात गर्ने नेपाल नै पहिलो मुलुक हुनसक्ने बताउनुभयो ।

सरकार मुलुकको तीव्र विकाससँगै प्रविधिको प्रयोगमा समेत निकै अघि बढिसकेको बताउँदै प्रधानमन्त्री ओलीले एक वर्षमा सगरमाथाको उचाइ नापिनु, डिजिटल स्वाइल म्यापिङ्ग सिस्टमको सुरुवात हुनु र सोही एक वर्षमा डिजिटल ल्याण्ड म्यापिङ्ग सिस्टमको समेत विकास हुनुजस्ता कार्य महत्त्वपूर्ण कार्य भइरहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *