सरकारले ‘लोकतान्त्रिक योद्धा सम्मान’ मा पहिलो पटक ३८१ योद्धा सम्मानित

 

सरकारले मुलुकमा लोकतान्त्रिक आन्दोलनमा सरिक भएर ज्यानको आहुति दिने व्यक्तिको सम्मानमा ‘लोकतान्त्रिक योद्धा सम्मान’ कार्यक्रमको प्रारम्भ गरेको छ । नयाँ वर्ष २०७८ को शुरुआतसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका लागि बलिदान दिने र जीवन आहुति दिन तयार हुने लोकतान्त्रिक योद्धालाई सम्मान गरेर उक्त कार्यक्रमको शुभारम्भ गर्नुभएको हो ।

समारोहमा प्रधानमन्त्री ओलीले यो कार्यक्रमसँगै मुलुकमा नयाँ सिलसिलाको प्रारम्भ भएको बताउनुभयो । विभिन्न आन्दोलनमा योगदान दिने व्यक्तिलाई खोजी–खोजी तथ्यका आधारमा सरकारले उचित सम्मान दिने र उक्त अभियान निरन्तर अघि बढ्ने जानकारी पनि उहाँले दिनुभयो । उहाँले बलिदानपूर्ण सङ्घर्षको इतिहासलाई सरकारले नविर्सिएको पनि प्रष्ट पार्नुभयो ।

‘इतिहासप्रति, अग्रजले गरेका बलिदानप्रति कृतघ्न हुन सक्दैनौँ, हामी कृतज्ञ हुनुपर्छ र त्यही कृतज्ञता स्वरुप नयाँ वर्ष २०७८ मा यहाँहरुलाई सम्मान गरेर नयाँ सिलसिला थालेका छौं,’ प्रधानमन्त्रीले ओलीले भन्नुभयो । उहाँले अरु पनि लाइनमा रहेकाले यो सिलसिला कायम रहने जानकारी दिँदै आगामी दिनमा सरकारको तर्फबाट गर्नुपर्ने कामको विषयमा ध्यान गएको प्रष्ट पार्नुभयो ।

उहाँले अझै पनि शहीद परिवारका सामाजिक सुरक्षा रोजगारी, बालबालिकाको शिक्षा, घाइते, असक्तताका भएकाको जनजीविकाका विषयलाई कसरी सम्बोधन गर्न सकिन्छ भनेर सरकारले सोचिरहेको जानकारी दिनुभयो । अझै गोली र छर्रा शरीरमा छन्, उपचारको आवश्यकता छ भने त्यस्तो स्थितिमा सरकारले ध्यान दिने उहाँको भनाई थियो । आज कूल ३८१ लाई यसरी लोकतान्त्रिक योद्धा सम्मान गरिएको थियो । त्यसमा १७६ बहिर्गमित लडाकुसहित दुई जनआन्दोलनका शहीद, १८ सशस्त्र सङ्घर्षका शहीद, ४७ सेनातर्फका शहीद, ४१ प्रहरीतर्फका शहीद, सशस्त्र प्रहरीतर्फ १६, राष्ट्रिय अनुसन्धानतर्फ तीन र मधेश आन्दोलनका २० शहीद परिवारलाई सम्मान गरिएको हो ।

अन्य सम्मान प्राप्त गर्नेमा विभिन्न आन्दोलनमा सहभागी भएर घाइते/अपाङ्गता भएका रहेका थिए । जिउँदा शहीदका रुपमा परिचित काभ्रेका मुकेश कायस्थको घरमै भएको सम्मान समारोह प्रधानमन्त्री ओलीले भर्चुअलबाट अवलोकन गर्नुभएको थियो । उक्त समारोहमा विसं २०६७ मा गम्भीर घाइते भएकालाई आफू भेट्न गएको सन्दर्भ जोड्दै प्रधानमन्त्री ओलीले घाइतेको कुरुवा र बिरामीको जीविका तथा औषधोपचारको प्रारम्भ गरिएको स्मरण गर्नुभयो । ‘अहिले पनि शहीदका परिवार आवासविहीनका अवस्थामा छन् भने आवास उपलब्ध गराउने, घर बनाउनका लागि जमिन छैन भने भूमि आयोग र भूमि मन्त्रालयमार्फत कसरी व्यवस्थापन गर्न सकिन्छ, हामी सोचिरहेका छौँ, त्यसको पनि लगत लिने काम शुरु भएको छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

उहाँले मुलुकमा कोही पनि बालबालिका अभिभावकविहीन हुनु नपर्ने र शहीदका परिवारले अभिभावक र शहीदका आमाबुबा बेसहारा भयौँ भन्नुपर्ने अवस्था आउन नदिने र त्यसको प्रबन्ध सरकारले गर्ने विश्वास दिलाउनुभयो । उहाँले आन्दोलनको टुप्पोमा बसेर दुःखकष्ट नगरी विदेशमा बसेर आन्दोलनको नेतृत्व गरेको भन्नेले बेहाल भइरहेकाको वास्ता गर्न नसक्ने प्रधानमन्त्री ओलीको भनाई छ । ‘आन्दोलनमा कहिल्यै पिटाइ खाएको छैन, जेल गएको छैन, भोकै बस्नुपरेको छैन, क्रान्तिकारी कुरा गरेको छ, अरुलाई भट्काएको छ, होमिदिएको छ, त्यस्ता मान्छेले यो पीडा बुझ्दैनन,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

सो अवसरमा प्रधानमन्त्री ओलीले आफूले पाएको यतनाको पनि चर्चा गर्नुभयो । ‘खानै नदिएर डेढ महिनासम्म थुनेर लगातार कुटाइ खाँदा कस्तो हुन्छ, हामीलाई थाहा छ । कसैलाई देख्न नपाउने गरी चार वर्षसम्म थुन्दाको पीडा हामीलाई थाहा छ ? परिवारसँग बिछोडिएर चौध÷पन्ध्र वर्षसम्म जेल बस्दा कस्तो हुन्छ हामीले भोगेका छौँ, ती पीडा बुझेकै हुनाले आँशुको महत्व के छ, यातना र दमन कस्तो हुन्छ भन्ने थाहा छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

बनेपाका मुकेशलाई भर्चुल माध्यमबाट सम्मान विसं २०६२/६३ मा घाइते भएका काभ्रेपलाञ्चोक, बनेपाका मुकेश कायस्थलाई भर्चुल माध्यमबाट सम्मान गर्दै काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल । काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा बुधबार आयोजित लोकतन्त्रका योद्धा सम्मान कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सहभागी नेताहरु । तस्बिर : रोशन सापकोटा,रासस

उहाँले शहीदको बलिदान र घाइतेको त्यागबाट मुलुकले एउटा नयाँ सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको तर जसले बलिदान दिए तिनका परिवारलाई प्राप्त नहुने अवस्था हुन नहुनेमा जोड दिनुभयो । प्रधानमन्त्री ओलीले विद्रोही, सुरक्षाकर्मी वा आम नागरिक जतासुकैबाट भए पनि बलिदान दिन बाध्य जोसुकै देशका लागि आदरणीय र अमर रहेकाले उहाँहरुलाई सम्मान दिएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *