बिक्रम संबत २०७८ सुरु, ऐतिहासिक पक्ष के छ

बिक्रम संबत २०७८ सुरु भएको छ । यो नेपालमा प्रचलित संबतमध्ये प्रमुख संबत हो । नेपालमा बिक्रम संबतको पहिलो दिन अर्थात बैशाख १ गतेलाई नयाँ बर्षको रुपमा मनाइन्छ । त्यसैले यो नेपालको संबत हो । यही संबतको आधामा नेपालमा सरकारी बार्षिक क्यालेण्डर तयार पारिएको छ ।

यो संबतले आज २०७८ बर्षमा प्रबेश गरिसक्दा पनि यो संबतको बारेमा धेरैलाई जानकारी छैन । कतिपयले यो संबतका बारेमा काफी भ्रम छरिरहेका छन् । यस्तोमा खासगरी पश्चिमी संस्कृतिको प्रभाब रहेका र पश्चिमी डोनेशनमा संचालनमा रहेका एनजीओ÷आईएनजीओकर्मी तथा तिनका सल्लाहाकार छन् । उनीहरुको मुल ध्येय नेपालमा पनि ईश्वी संबतलाई सरकारी संबतको रुपमा मान्यता दिनु रहेको छ । बेला–बेलामा तिनीहरु यो संबत नेपाली होइन र यो बिकास बिरोधी भयो भन्दै सन्चार माध्यममा कुर्लिरहेको हामी सुन्छौं । बास्तबमा यो बिकास बिरोधी होइन, पश्चिमा संस्कृतिबिरोधी संबत हो । त्यसैले यो संबतको बारेमा यथार्थ जानकारी दिनु यो लेखको उद्धेश्य हो ।

तत्कालीन विशाल नेपालमा प्राचीन आर्य संस्कृति, सभ्यता र परम्परालाई जोगाउने अभिप्रायले विक्रम संवतको चलन हाम्रा पुर्खाहरुले चलाएका हुन् । यो संवत सनातन हिन्दु परम्परामा आधारित नेपालको राष्ट्रिय पञ्चाङ्ग हो, जसलाई राजा पृथ्वी वीर विक्रमको शासनकालमा राणा प्रधानमन्त्री देवशमशेरले आधिकारिकता दिई सरकारी सम्बतको औपचारिक मान्यता दिएको ठानिन्छ । अपुष्ट रुपमा भन्दा उहिले उज्जैनका तत्कालीन राजा विक्रमादित्यले चलाएको भनेर यो सम्बतलाई विदेशी सम्बत मान्नेको लर्को पनि थुप्रै छ भने यो सम्बत नेपालको प्रथम मौलिक सम्बत हो भन्ने पनि धेरै छन् । जे भए पनि यो प्राचीन सनातन परम्परामा आधारित सौर्य पात्रो हो, जो ग्रेगोरियन पात्रो ‘अङ्ग्रेजी पात्रो’भन्दा ५६ वर्ष ८ महिना १५ दिन जेठो छ । त्यसै गरी शक सम्बत भन्दा १३५ बर्ष जेठो , कली सम्बत भन्दा ३०४४ बर्ष कान्छो , नेपाल सम्बत् भन्दा ९३६ बर्ष ६ महिना जेठो , हिजरी सम्बत भन्दा ६३६ बर्ष जेठो छ । बिक्रम सम्बतलाई अनुशरण गर्ने देश नेपाल मात्र हो । भारतले यस सम्बतलाई सांस्कृतिक क्यालेण्डरको रुपमा स्वीकारेको पाइन्छ । भारतमा तिथिको आधारमा यसलाई चलाइएको छ । यस सम्बतमा वर्षको सुरूवात बैशाखको पहिलो दिनबाट अर्थात सूर्यको मेष राशीमा संक्रमण भएपछि हुन्छ ।

विक्रमादित्य राजा नेपालको प्रचलित वंशावलीमा पनि छन । पशुपति महात्म्यमा अथ सूर्यवंश प्रभावोन्नेपाले किराँत राजन निर्जित्य लिच्छवि वंश प्रवर्तते अर्थात सूर्यवंशी लिच्छविको प्रभावले किराँत राजालाई जिती लिच्छवि वंश सुरू भएपछि लिच्छवि वंशका पहिला राजालाई धर्मपाल, भूमिबर्मा, विक्रमादित्य आदि भनिएको र तिनकै शासनकालदेखि नै नेपालमा विक्रम संवत सुरू भएको बताइएको छ । पुरातत्व विभागको प्रकाशन र नयनाथ पौड्यालको सम्पादनमा निकालिएको भाषा वंशावलीले लिच्छवी राजा धर्मागतको शासनकालमा उनको नामले राजप्रासादको दक्षिणतर्फ चतुर्मुख नारायण स्थापित गरी जोडी धारा -हालको नारायणहिटी_ बनाएको र त्यसैबेलादेखि विक्रम संवत नेपालमा प्रचलनमा ल्याएको उल्लेखित छ । विक्रमादित्य राजाले राज्य गरेको ऐतिहासिक ठाउँ भनि साँखु बज्रयोगिनीको मन्दिर परिसरको केही माथि विक्रमादित्य राजाको टाउकाको पूजा युगौंदेखि बज्राचार्य वंशका पुजारीले गरी आएको देखिन्छ । यिनै राजाले नेपाललाई विस्तार गर्दै काशीसम्म पुर्याएका र काशीमा विश्वनाथको मन्दिर स्थापना गरेका थिए भन्ने कुरा स्कन्द पुराणको हिमवत्खण्डमा समेत उल्लेख छ ।

योगी नरहरिनाथले समेत “श्री वीर पालःनृपतिःततः अभूत तस्मात अभूत विक्रमपाल भूपः” भन्ने उल्लेख गर्दै देवमाला वंशावलीमा कुनै चक्रवर्ती राजा विक्रमादित्यको बत्तीसपुतली राम मन्दिर भएको ठाउँमा सिंहासन भेटिएको र त्यो सिंहासनमा बत्तीसवटा पुतली थिए र त्यही भेटिएको स्थानलाई नै आज बत्तिसपुतली भनिएको हो भनेर उल्लेख गरेका छन । यी विक्रमादित्य नै लिच्छवि राजा भूमीवर्मा भएको र यिनको राजधानी विशालनगरमा भएको एतिहाँसिक तथ्य छ । त्यस्तै भाषा वंशावलीले विक्रमादित्य राजाले बज्रयोगिनीवाट पारसमणिसहित आशिर्वाद प्राप्त गरी नारायणहिटी स्थापित गरेको उल्लेख दीर्घराज प्रसाईंले “विक्रम सम्बतको इतिहास” मा स्पष्ट पार्नु भएको छ । उत्तर भारतबाट प्रकाशित हुने पात्रोहरुले -हेर्नुहोस महावीर पान्चांग_ यस सम्बतलाई नेपाल सम्बत भनेर नामाकरण गरेको देखिएकोले यो सम्बत नेपालको मौलिक सम्बत भएको मान्नै पर्छ ।

ईतिहांस शिरोमणि बाबुराम आचार्यले लेख्नु भएको छ, जुन समय ई=पू=५८ वर्षमा यो संवत् उठान भएको थियो । त्यसबेला भारतको उज्जयनीमा राजा विक्रमादित्यको अस्तित्व नदेखिएको हुदा र उज्जयनीमा उत्खनन् हुँदा पनि त्यस समयमा विक्रमादित्य भएको चिन्ह नभेटिएको हुदा विक्रम संवत् हिमवत्खण्ड नेपालको आदि र मौलिक संवत् भएको पुष्टि हुन्छ । यो सम्बत् नेपालको मौलिक सम्बत् हो र यसले कहिल्यै कुनै पनि प्रकारको औपनिवेसिक प्रभाव भोग्नु परेन । त्यसैले विक्रम संवत् नेपालको गौरवमय पहिचान हो ।

नेपालमा विक्रम सम्बत्को प्रयोग वि=स=३८६ देखि प्रारम्भ भएको पाइएको छ भने काठमाडौँ, चपली गाउँमा रहेको अभिलेखमा लेखिएको संवत् ४८९ सम्मका संवत् विक्रम संवत् हुन् भन्ने कुरा नेपालका खोजकर्ता शंकरमान राजवंशीले पूर्व लिच्छविकाल र उत्तर लिच्छविकालका सम्बतहरु शक संवत् होइनन् भन्दै लिच्छविकालका अभिलेखमा उल्लेखित सम्बतहरुलाई विक्रम संवत् किटानी गरिदिएका छन् । हरिसिद्धि मन्दिरमा विक्रम संवत् ७११ उल्लेख भएको वंशावली र विक्रम संवत् ९४५मा हरिसिद्धि नाटक मञ्चन भएको हरिसिद्धि उपपुराणमा उल्लेख गरिएको पाइन्छ । त्यसो भएकाले चाँगुनारायणलगायत लिच्छवि शासनकालका उल्लेखित सम्बतहरु सबै विक्रम संवत् नै भएको मानिन्छन् ।

विक्रम संवत् १९३७ मा भारत, गुजरातका विद्वान खोजकर्ता पं.भगवानलाल इन्द्रजी नेपालमा आई यहाँबाट २३ वटा अभिलेख खोजी लगी लिच्छविकालमा उल्लेखित सम्बतहरु विक्रम संवत ठहर्याएका थिए । त्यसै गरी कलकत्ता विश्वविद्यालयका इतिहासका प्राध्यापक राधागोविन्द बासकले भारतको उत्तरपूर्व भागको इतिहासमा लेखेका छन, ‘मानदेवको पालाको संवत् ३८६को चाँगुको अभिलेखको संवत् ‘विक्रम संवत् हो ।

जयस्थिति मल्लको पालाको सुवर्णपत्रमा ‘विक्रम राजवर्ष १४४८ श्रीमत् नेपालीकेः श्रेयोस्तु’ उल्लेख छ । भक्तपुर दरबार नजिकैको गहिरो धाराको पश्चिमपट्टिको भित्तामा विक्रम संवत् १७३५ र भक्तपुर दरबारको तलेजु चोकको देवद्वारको तोरणको स्वर्ण पट्टामा विक्रम संवत् १७४१ र भक्तपुरको डोलेश्वर महादेवको मन्दिरमा विक्रमाब्द १७६४ र भक्तपुर राजदरबार कुमारी चोकमा जितामित्र मल्लको अभिलेखमा विक्रम संवत् १७३४ उल्लेख भएको कुरा नयनाथ पौडेलले अभिलेख संग्रहमा उल्लेख गर्नुभएको छ । राजा भूपतेन्द्र मल्लले विक्रम संवत् १७६३ उल्लेख गरेको कुरा भूवनलाल प्रधानले उल्लेख गर्नुभएको छ ।

मोरङका राजा हरिश्चन्द्र सेन र वृषसेनको स्याहामोहरमा विक्रम संवत् १७१९ पौष वदी ४, मकवानपुरका राजा मानिकसेनले विक्रम संवत् १७८४ कार्तिक शुदी ७, विजैपुरमा बुद्धिकर्ण राईले विक्रम संवत् १८२४ नेपाली भाषामा लेखिएका कैयौं प्रमाणहरू भएको कुरा इतिहासविद् शंकरमान राजवंशीको पुरातत्व संग्रह ९२०१८० मा प्रकाशित छ । फर्पिङमा कनकेशरको ढोका फेरेर मुकुट चढाएको अंकित अभिलेखमा विक्रम संवत् १२९७ उल्लेख छ । राजा द्रव्य शाहद्वारा वि.स. १६१६ मा स्थापना गरिएको गोरखा राज्य र त्यस राज्यको एकीकृत स्वरुप र प्राचीन नेपाली समाजले अगणित कालअघिदेखि बिक्रम सम्बत् नै प्रयोग गर्दै ल्याएको छ । नेपालमा प्रयोग भएको ज्योतिष शास्त्रले पनि बिक्रम सम्बतमा नै समस्त प्रयोग गरेको छ । त्यसकारण बिक्रम सम्बत् १९५८ सालमा तत्कालीन राजा पृथ्बी बीरबिक्रम शाह र प्रधानमन्त्री देव शमशेर हुदा बिक्रम सम्बत् सरकारी कामकाजमा स्वीकारिएको हो । त्यसभन्दा पहिलेका नेपालको सबैजसो इतिहास र तिथि, मिति अंग्रेजले खोजेर वा अनुसन्धान गरेर लेखिदिएको हुदा ईश्वी सम्बत उल्लेख गरिएको देखिएता पनि विक्रम सम्बत् लिच्छवी कालदेखि नै प्रयोग गरेको देखिन्छ ।

बुढा महाराज पृथ्वीनारायण शाहले उपत्यका एकीकरण गरेपछि विक्रम संवत् १८२५ को वशंतपुर दरबारको अभिलेखमा – ‘राजा पृथ्वीनाराणको वंश गुहृयेकाली र पशुपतिका दुई पाउका धुलाका प्रसादले स्थीर भइरहोस’ उल्लेख गराए । गोरखाको रामेश्वर मन्दिरको रामशाहको अभिलेखमा विक्रम संवत् १६९३ उल्लेख छ । अछामको वरदादेवी मन्दिरमा विक्रम संवत् १७७९ पौष उल्लेख छ । जयप्रकाश मल्लले विक्रम संवत् १८१४मा पृथ्वीनारायणलाई नेपाली भाषामा धर्मपत्र गरी दिएको कुरा इतिहासविद् नयराज पन्तले ‘इतिहास संशोधनको प्रमाण प्रमेय’मा उल्लेख गर्नुभएको छ । विक्रम संवत् नेपालको राष्ट्रिय सम्बतको रूपमा प्रचलित हुँदै आएकाले जंगबहादुरले मुलुकी ऐनलाई विक्रम संवत् १९१०मा संग्रह गरी विक्रम संवत् नै उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *