बाँकेमा व्यवसायिक ड्रागन फ्रुटको खेती गर्दै तिलबहादुर श्रीसमगर

बाँकेको खजुरा गाउँपालिका ४, एफ गाउँका कृषक तिलबहादुर श्रीसमगर ड्रागन फ्रुट खेतीमा काम गर्दे

बाँके जिल्लामा पहिलो पटक व्यावसायिक रुपमा ड्रागन फ्रुटको उत्पादन शुरु गरिएको छ । बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ४, एफ गाउँका ४९ बर्षिय कृषक तिल बहादुर श्रीस मगरले एक बिगाहा जमिनमा व्यावसायिक रुपले उक्त फलको उत्पादन शुरु गर्नु भएको हो । उहाँले नवीन ड्रागन कृषि फार्म दर्ता गरेर उक्त खेतीको व्यावसायिक उत्पादन शुरु गरेको बताउनु भयो । पाँच कट्ठा आफ्नो निजि जमिन र पन्ध्र कट्ठा भाडाको जमिनमा उक्त खेतिको उत्पादन सुरु गर्नु भएको छ ।

उहाँले ड्रागन खेती गर्नकालागि कहिँ कतै तालिम नलिएको, बिदेशमा आफुले यो खेती सम्बन्धि काम गरेर सीप सिकेको आफ्नो अनुभवको आधारमा यो खेतीमा हात हालेको बताउनु भयो । ’मैले वैदेशिक रोजगारका सिलसिलामा मलेसियामा साढे छ बर्ष ड्रागन फ्रुटकै खेतीको फार्ममा काम गरें, बिदेशमा यस सम्बन्धि सम्पुर्ण जानकारी प्राप्त गरें र तीन बर्ष अघि नेपाल आएर आफ्नै गाउँमा ट्रायलका रुपमा खेती सुरु गरें । एक बर्ष अघिदेखि व्यावसायिक रुपले यसको उत्पादन सुरु गरेको छु ।’ – उहाँले बताउनु भयो ।

सिमेन्टद्वारा निर्मित चारपाटे पोलमा ड्रागन फ्रुटको बिरुवा लगाई फल उत्पादन गर्न सकिने उहाँले बताउनु भयो । उहाँले एक पोलमा चारतिरबाट चारवटा बिरुवा रोपेर एउटै पोलमा फल फलाउन सकिने बताउनुहुन्छ । तीन बर्ष पहिला मलेसियाबाट फर्किदा एउटा बिरुवा ल्याएर एउटा पोलबाट सुरु गरेको ड्रागन खेतीको उत्पादन अहिले उहाँको फार्ममा ५ सय पोलमा दुई हजार बिरुवा लगाई खेती गर्नु भएको छ । ’तीन बर्ष पहिला मलेसियाबाट बिदामा घर फर्किदा एउटा बिरुवा ल्याएर टेष्ट गरेको थिएँ, हाल मेरो फार्ममा ५ सय पोलमा दुई हजार ड्रागनको बिरुवा लगाएको छु, एक हजार पोलमा दुई हजार बिरुवा लगाउने योजना छ ।’ – मगरले भन्नू भयो ।

सिमेन्टको पोल तैयार गर्दा ५ फिट अग्लो गराउनु पर्ने, डेढ फिट भाग माटो मुनि गाड्नु पर्ने र साढे तीन फिट लामो पोल बाहिर बिरुवाको लागि आवश्यक पर्ने उहाँ बताउनु हुन्छ । एक पोलबाट अर्को पोलको बिचको दुरी ९ बाई ११ फिट (९×११) आवश्यक पर्ने उहाँको भनाई छ ।

एउटा बिरुवा र एउटा पोलबाट सुरु गरिएको उक्त खेतीबाट उहाँले १० पोल, १ सय पोल, २ सय पोल हुँदै हाल ५ सय पोलमा उत्पादन सुरु गर्नु भएको ड्रागनको बिरुवा र फलको एक चरण बिक्रीवितरण समेत गरी आम्दानी गरिसक्नु भएको छ । १० पोलमा खेती गर्दा पहिलो बर्षमा ५० केजी फल उत्पादन गरि बिक्रीवितरण गरेको उहाँले बताउनु भयो । ’मैले दुई बर्ष पहिला १० पोलमा लगाएको बिरुवाबाट गतसाल उत्पादन भएको ५० केजी फल बिक्रि गरिसकें, फुटकरमा ८ सय रुपैयाँ किलो र होलसेलमा ६ सय रुपैयाँ प्रति किलोको दरले बिक्रि गरें ।’ – उहाँले भन्नू भयो ।

यसको खेती गर्न माटोको परिक्षण गर्न नपर्ने, न्युनतम २५ डिग्री भन्दा माथिको तापक्रम चाहिने, आकासे पानी आवश्यक पर्ने र घरमै बनाएको गोबर मलको प्रयोग गर्न सकिने उहाँको भनाई छ । बिरुवा लगाएको करीब दुई बर्षपछि यसले उत्पादन दिने उहाँको भनाई छ । पहिलो बर्षमा उत्पादन हुँदैन, दोश्रो बर्षमा एक पोल (चार बिरुवा) बाट अन्दाजी ५ किलो, तेस्रो बर्षमा १० किलो, चौथो बर्षमा २० किलोको दरले उत्पादन हुने उहाले बताउनु भयो ।

हाल उहाँको फार्ममा ताइवान, फिलिपिन्स, मलेसियन तथा भियतनामका हाइब्रीड जातका विभिन्न प्रजातिका बिरुवा रहेका छन । पहिलो पटकमा मलेसियन सेतो प्रजातिको हाइब्रीडको बिरुवा लगाउनु भएको उहाँले अहिले भियतनाम पिंक, पिंक लगायतका बिरुवा उत्पादन गर्नु भएको छ । उहाँले फार्मबाट फल मात्र नभएर बिरुवा समेत उत्पादन गरी बिक्रि गर्दै आउनु भएको छ । एक फिट लामो बिरुवालाई दुई सय देखि दुई सय पचास रुपैयाँमा बिक्रि गर्दै आएको उहाँले बताउनु भयो ।

शुरुदेखी हालसम्म करीब २० लाख लागतको लगानी गरेको उहाँले बताउनु भयो । आफू कृषि ज्ञान केन्द्र, कृषि तालिम केन्द्र लगायतका निकायमा प्राबिधिक तथा आर्थिक सहयोग माग्न गएपनि हालसम्म कुनै सरकारी निकायबाट सहयोग प्राप्त गर्न नसकेको उहाँले दुखेसो पोख्नु भयो । कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले एकपटक उहाँ सम्पर्क गर्न आएको बताउनु भयो । ढकालले भन्नुभयो – ’एकपटक उहाँ ड्रागन खेतीका बारेमा जानकारी लिन आउनु भएको थियो, यो खेती नयाँ भएका कारण हामीसँग ठ्याक्कै ड्रागन सम्बन्धि प्राबिधिक नभएपनी अन्य प्राबिधिक हुनुहुन्छ । बाँकेमा व्यावसायिक रुपले ड्रागन खेती गर्ने उहाँ नै पहिलो किसान हो । सरकारबाट हुने सहयोग हामी गर्नेछौं, उहाँ हामीसङ्ग समन्वयमा हुनुहुन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *