डुडुवाले सामाजिक सुरक्षाभत्ता दोस्रो चौमासिक वितरण शुरु


बाँके डुडुवा गाउँपालिकाले सामाजिक सुरक्षासेवाको दोस्रो चौमासिक अन्र्तगत मंसिरदेखि फागुनसम्मको भत्ता वितरण गर्न थालिएको हो । गाउँपालिकाको ६ वटै वडामा शुक्रबारदेखि भत्ता वितरण शुरु गरिएको छ । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले वार्ड नं. २ कोलही गाउँका जेष्ठ नागरिक सतगुर सरन कुर्मीलाई भत्ता वापतको रकम हस्तान्तरण गर्दै शुभारम्भ गर्नुभयो ।

अध्यक्ष चौधरीले गाउँपालिकाले विगतदेखि नै जेष्ठ नागरिकको सम्मान गर्दै घर घरमा पुगेर रकम वितरण गर्दै आएको बताउनुभयो । उहाँले आशिंक अपांगता भएकाहरुलाई आर्थिक सहयोग गाउँपालिकाले आफनै स्रोतबाट उपलब्ध गराएको भन्दै जेष्ठ नागरिकको पूर्ण रुपमा निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरेको जानकारी गराउनुभयो ।

गाउँपालिकाको ६ वटै वडामा जेष्ठ नागरिक, बालबालिका, दलित, अपांग, एकल महिला, विधुवा गरी ३ हजार ९ सय ७३ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिनेछ । ७० वर्ष पुगेका जेष्ठ नागरिकलाई प्रति महिना ३ हजार, ६० वर्ष पुगेका जेष्ठ नागरिक दलित, ६० वर्ष पुगेका जेष्ठ नागरिक एकल महिलालाई, आर्थिक सहायतालाई प्रति महिना २ हजार, पुर्ण अपागंता भएका व्यक्ति (क) वर्गलाई प्रतिमहिना ३ हजार, अपांगता भएका व्यक्ती (ख) वर्गलाई प्रतिमहिना १ हजार ६ सय, जन्मेदेखि ५ वर्ष मुनिका दलित बालबालिकालाई प्रतिमहिना ४ सयका दरले रकम वितरण गरिने गाउँपालिकाका एमआइएस अपरेटर कौशलकुमार कैरातीले जानकारी दिनुभयो ।

यसैगरि अपांगता भएका व्यक्ती (ग) वर्गलाई प्रतिमहिना ५ सय र (घ) वर्गलाइ ४ सय प्रतिमहिनाका दरले गाउँपालिकाले आफ्नै स्रोतबाट वितरण गरिरहेको छ । कोरोना संक्रमणको महामारीका बेला कर्मचारीहरुले स्वास्थ्य सुरक्षा र भौतिक दुरी कायम गरि घरदेलो अभियान अन्र्तगत रकम वितरण गरिरहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *