बाँकेको नरैनापुर गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा

बाँकेको नरैनापुर गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । गाउँपालिकाले आज एक कार्यक्रमको आयोजना गरी पालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरेको हो ।
गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले पालिकालाई पूर्ण खोप सुनिश्चितता भएको घोषणा गर्नुभयो । खोप लगाउन छुटेका १६ देखि २३ महिनाका १ सय ३५ जना बालबालिकालाई खोप लगाइएपछि नरैनापुर पूर्ण खोप सुनिश्चितता गाउँपालिका बनेको हो । गाउँपालिकाले यसअघि फाल्गुन ५ गते सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरेको थियो । पूर्ण खोप सुनिश्चितता घोषणा कार्यक्रम गाउँपालिकाकाका अध्यक्ष शाहको अध्यक्षता एवम् जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजय कुमार श्रीवास्तवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्ने बक्ताहरुले पूर्ण खोप सुनिश्चिततालाई अब दिगोपना दिनतर्फ ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिएका थिए ।
घोषणा कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख श्रीवास्तव, गाउँपालिकाका अध्यक्ष शाह, सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्याय, स्वास्थ्य कार्यालयका प्रमुख धिरजंग शाह, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाही, वडा नम्बर ३ का वडाध्यक्ष राजकुमार मौर्य, स्वास्थ्य कार्यालयका खोप अधिकृत भेषराज शर्मा, गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नागेन्द्र कुमार शाह, वडा नम्बर ५ को स्वास्थ्य चौकीका प्रमुख प्रेम बुढा क्षेत्री, दिपेन्द्र प्रावि भगवानपुरका प्रधानाध्यापक दुर्गा श्रीवास्तव, युनिसेफका प्रतिनिधि कृष्णहरि मैनालीले बोल्नुभएको थियो ।
अब बाँकेमा बैजनाथ गाउँपालिका मात्र पूर्ण खोप सुनिश्चितता घोषणा हुन बाँकि छ । फाल्गुन मसान्तसम्म बाँके जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषणा गर्ने लक्ष्य छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *