पाँचौँ निर्वाचन दिवस आज मूल नाराका साथ निर्वाचन आयोगले मनाउँदै

‘निर्वाचनमा सबै, सधैँ, सँगै’ भन्ने मूल नाराका साथ निर्वाचन आयोगले शुक्रबार पाँचौँ निर्वाचन दिवस मनाउँदैछ । नेपालमा सर्वप्रथम विसं २०१५ फागुन ७ गते आम निर्वाचन प्रारम्भ भई वालिग नेपालीले मताधिकारको उपयोग गर्न पाएको दिनलाई स्मरण गर्दै आयोगले विसं २०७३ देखि फागुन ७ गते निर्वाचन दिवस मनाउन थालेको हो ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन दिवसका अवसरमा सम्पूर्ण मतदातालाई शुभकामना व्यक्त गर्दै आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनमा सक्रियतापूर्वक सहभागी हुन आह्वान गर्नुभएको छ । मुलुकको स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, जनतामा नीहित सार्वभौमसत्ता, वालिग मताधिकार, आवधिक निर्वाचन र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जगमा निर्वाचनको सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रणको संवैधानिक जिम्मेवारी आयोगले प्राप्त गरेको छ ।

आयोगले निर्वाचन व्यवस्थापनको साढे छ दशक लामो अनुभव र संवैधानिक निकायको हैसियतमा आप्mनो स्थापनाका ५४ वर्ष पूरा गरिसकेको छ । प्रमुख आयुक्त थपलियाले निर्वाचनको यात्रामा संवैधानिक गतिशीलताअनुरूप आयोगलाई निरन्तर अगाडि बढन योगदान, प्रेरणा, सहयोग र हौसला प्रदान गर्नुहुने अग्रजको मेहनत, परिश्रम, साहस र दृढताको सम्मान एवं प्रशंसा गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ, “स्थापनाकालदेखि नै संविधान प्रदत्त अधिकारअनुसार कुशलतापूर्वक निर्वाचनको व्यवस्थापन गर्दै आयोगले निष्पक्षता, व्यावसायिकता र विश्वसनीयताको पूर्ण प्रत्याभूतिसहित निर्वाचन सरोकारवालाको सक्रिय सहभागिता र सहमतिमा सर्वस्वीकार्य निर्वाचन सम्पन्न गर्ने गुरूत्तर दायित्व पूरा गर्न दृढ सङ्कल्पित छ ।”

स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवं मितव्ययी निर्वाचनको दीर्घकालिन सोंचसहित हाँसिल गरेका उपलब्धि एवं प्रारम्भ गरेको निर्वाचन व्यवस्थापन तथा सञ्चालन सुधारको यात्रालाई अझ व्यवस्थित र परिस्कृत बनाउँदै निर्वाचन सम्पन्न गर्ने अठोटका साथ आयोगले निर्वाचनको तयारीलाई व्यापक बनाउँदै लगेको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

आयोगले निर्वाचन प्रक्रियाको प्रस्थान बिन्दु मतदाता नामावलीलाई त्रुटिरहित, गुणस्तरीय र अद्यावधिक बनाउने कार्य तथा निर्वाचनमा मतदाताको सहभागिता र सहज पहुँचका निम्ति मतदानस्थल एवं मतदान केन्द्र सुरक्षित, व्यवस्थित र पूर्वाधार सुविधायुक्त बनाउने गरी पुनरावलोकन गर्ने कार्य अन्तिम चरणमा पुगेको जानकारी दिएको छ ।

निर्वाचन कार्यक्रम, आचारसंहिता तर्जुमा, खरीद योजना तयारी, सामग्री व्यवस्थापन खरीद प्रक्रिया आरम्भ, बजेट अनुमान र आर्थिक कार्यविधि तर्जुमा, निर्वाचन सुरक्षा योजना तयारी, मतदाता शिक्षा तथा तालीमसम्बन्धी स्रोत सामग्री, निर्वाचन अनुगमन तथा पर्यवेक्षणसम्बन्धी कार्यविधिको तर्जुमा, मतदानमा खटिने कर्मचारी अभिमुखीकरण तथा तालीम सामग्री व्यवस्था, अन्तर्राष्ट्रिय सहयोगलगायतका कार्य व्यवस्थित एवं योजनाबद्धरूपमा भइरहको जानकारी दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *