नेपालमा कोरोना निको हुनेको प्रतिशत ९८.३३

नेपालमा कोरोना भाइरसका एकसय ५९ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७१ हजार ११८ जना पुगेको जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा चार हजार १४५जनाको पीसीआर परीक्षण गर्दा कोरोना भाइरसका एकसय ५९ जना सङ्क्रमित थपिएका हुन् । अहिलेसम्म २० लाख ७५ हजार १५२ वटा पीसीआर परीक्षण भइसकेको छ ।

देशका विभिन्न अस्पतालबाट २६४ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केको मन्त्रालयले जनाएको छ । पछिल्लो चौबीस घण्टामा २६४ जना कोभिडमुक्त भएसँगै नेपालमा कोरोना निको हुनेको संख्या दुई लाख ६६ हजार छसय जना पुगेको छ । नेपालमा कोरोना निको हुनेको प्रतिशत ९८.३३ मा उक्लेको छ ।

पछिल्लो चौबीस घण्टामा कोही पनि सङ्क्रमित मृत्यु नभएको मन्त्रालयले उल्लेख गरेको छ । हिजोसम्म दुई हजार २९ जना सङ्क्रमितको मृत्यु भएको थियो ।

हाल दुई हजार ४८९ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ भने दुई हजार ४८९ जना आइसोलेशनमा छन् । क्वारेन्टिनमा ९७ जना मात्र छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *