प्रधानमन्त्रीले कोरोना भाइरस विरुद्धको खोप अभियान सुरु गर्दै

नेपालमा बुधबारबाट देशव्यापी रूपमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप अभियान सुरु हँुदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना खोप अभियानको एक विशेष समारोहबीच शुभारम्भ गर्दै हुनुहुन्छ ।

खोप पहिलो चरणमा चिकित्सक, नर्स तथा फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी, शव व्यवस्थापन गर्ने व्यक्ति, एम्बुलेन्स चालक, सरसफाइ गर्ने व्यक्तिलाई लगाइनेछ । केही दिनअघि भारत सरकारको अनुदानमा १० लाख डोज खोप नेपाल ल्याइएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले चार लाख ३० हजारलाई पहिलो चरणमा खोप लगाइने जानकारी दिनुभयो । प्रवक्ता गौतमले कोरोनाविरुद्धको खोप ‘कोभिसिल्ड’ खोप सातै प्रदेशमा पहिलो चरणमा लगाइने र पछि पुनः खोप आएपछि समुदायस्तरमा लगाइने बताउनुभयो ।

नेपालले भारतको सेरम इन्स्टिच्युट प्रालिले उत्पादन गरेको कोभिसिल्ड भ्याक्सिन खोप लगाउन लागेको हो । उक्त खोप भारतमा आपत्कालीन प्रयोगका लागि स्वीकृत भई खोप लगाउन थालिएको छ । नेपालमा पनि आपत्कालीन प्रयोगका लागि औषधि व्यवस्था विभागबाट स्वीकृति भएर लगाउन सुरु गरिँदैछ ।

सरकारले बुधबार ६२ वटा अस्पताल र १२० वटा खोप केन्द्रबाट एकसाथ सुरु गर्दैछ  । सरकारले पहिलो चरणको खोप अभियान एक हप्ताभित्र सम्पन्न गर्ने योजना बनाएको छ । काठमाडौँं उपत्यकामा ११ वटा प्रमुख अस्पतालबाट खोप लगाइनेछ । खोप लगाउने केही अस्पतालको निरीक्षण स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *