नेपालमा कोरोना विरुद्धको खोप यसै हप्ता ल्याइदै

भारत सरकारले नेपाललाई सहयोगस्वरूप दिने प्रतिबद्धता गरेअनुसारको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप चाँडै नेपाल भित्रिने भएको छ । अन्य विदेशी मुलुकबाट खोप कहिले आउने भन्ने अन्योल चिर्दै छिमेकी मुलुकबाट सबैभन्दा पहिले खोप आउने सुनिश्चित भएको छ ।

भारत सरकारले त्यसका लागि प्रक्रिया सुरु गरिसकेको भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले जानकारी दिनुभयो । “अबको केही दिनमा नै भारत सरकारका तर्फबाट नेपाललाई प्रदान गरिने खोपको घोषणा गरिँदैछ, त्यसपछि पहिलो चरणको खोप नेपाललाई पठाउनेछ”, उहाँले भन्नुभयो । नेपाललाई दिने खोपको घोषणालगत्तै खोप ढुवानीको अन्य प्रक्रिया सुरु हुने उहाँले स्पष्ट पार्नुभयो ।

राजदूत आचार्यका अनुसार निकटको छिमेकी मुलुकको नाताले पनि भारतबाट खोप नेपाल भित्रयाउने सवालमा निकै राम्रो प्रगति भएको छ । भारतबाट आउने खोपको केही मात्रा अनुदानको हुनेछ भने अन्य खरिद प्रक्रियाअनुसार हुने सम्भावना रहेको छ ।
नेपालको कुल जनसङ्ख्यालाई पुग्ने खोप भारतबाटै ल्याउन पहल भइरहे पनि पहिलो चरणमा कुल जनसङ्ख्याको तीन प्रतिशत खोप भारतबाट आउनेछ । राजदूत आचार्यले खोप नेरपाल भित्रयाउनका लागि खोपको अन्तिम परीक्षण चलेकै बखतदेखि पहल थाल्नुभएको थियो । जसका लागि त्यहाँस्थित खोप निर्माता तथा स्वास्थ्य मन्त्रालयका पदाधिकारीसँग संवाद गरेर नेपालमा खोप भित्रयाउने वातावरण बनाउनुभएको थियो । भारत बायोटेकले कोभिड–१९ विरुद्धको खोप विकास गरेको हो ।

राजदूत आचार्यले नेपालको २० प्रतिशत जनसङ्ख्यालाई पुग्ने खोप भारतबाट ल्याउने तयारी रहेको बताउनुभयो । सुरुवातमा आउने तीन प्रतिशत भने अग्रमोर्चामा रहेर काम गरिरहेकाका लागि प्रयोग गरिनेछ । दोस्रो चरणमा आउने १७ प्रतिशत खोप भने जोखिममा रहेका समूहका लागि हुने गरी ल्याइने प्रक्रिया अगाडि बढेको छ ।

नेपाललाई भारतबाट खोप सुनिश्चित गर्न केही दिनअघि भारतमा भएको संयुक्त आयोगको बैठकले ठूलो भूमिका खेलेको राजदूत आचार्यले जानकारी दिनुभयो । बैठकमा भाग लिन जानुभएका परराष्ट्रमन्त्रीसहितको प्रतिनिधिमण्डलसामु भारतका विदेशमन्त्री डा। सुब्रमन्यम जयशङ्करले खोप नेपाललाई आवश्यकताअनुसार दिने प्रतिबद्धता जनाउनुभएको थियो ।

आचार्यले भन्नुभएजस्तै नेपाल सरकारले सबै जनसङ्ख्यालाई पुग्ने कुल ७२ प्रतिशत खोपको आवश्यकता पूर्तिका लागि भारतसहित विभिन्न छिमेकी मुलुकमा कूटनीतिक प्रक्रिया अगाडि बढाएको छ । जसमध्ये ४० प्रतिशतसम्म खोप भारतबाट ल्याउन अनुदान र खरिद दुवै प्रक्रिया अगाडि बढाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा। समीर अधिकारीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *