भुकम्पकाे जाेखिम न्यूनीकरणका लागि सरकार प्रतिबद्ध छः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले विपत् जोखिम न्यूनीकरणलाई दिगो र परिणाममुखी बनाउन सरकारको तर्फबाट योजनाबद्ध प्रयत्न गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

उहाँले २३ औँ भूकम्प सुरक्षा दिवसको अवसरमा शुभकामना सन्देश दिनुहुँदै यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो । प्रधानमन्त्री ओलीले भूकम्पलगायतका विपत्बाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न सम्पूर्ण निकाय र नागरिकबीच सहकार्य गरी अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ । बाढी, पहिरो, महामारी, आगलागी, डढेलो, भूकम्पलगायत विपत्बाट मुलुक बारम्बार प्रभावित हुने गरेको चर्चा गर्नुहुँदै उहाँले २०७२ सालको भूकम्पले नेपाली समाजलाई नयाँ शिक्षासमेत दिएको स्पष्ट पार्नुभएको छ ।

यसैबीच ‘बहुप्रकोपीय विपत्मा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ नारासहित शुक्रबार २३औँ भूकम्प सुरक्षा दिवस मनाइँदैछ । यो दिवस वि.सं. २०५५ देखि हरेक वर्ष माघ २ गते मनाइँदै आएको छ । भूकम्पबाट हुने जोखिमलाई अझ न्यूनीकरण गरी जनधनको क्षति रोक्न विगत २३ वर्षदेखि माघ २ गतेलाई ‘भूकम्प सुरक्षा दिवस’ रूपमा मनाउने गरिएको हो । वि.सं. १९९० माघ २ गते नेपालमा ८.३ रेक्टर स्केलको महाभूकम्प गएको थियो । त्यस भूकम्पमा १५ हजार सात सय जनाको मृत्यु भएको थियो । त्यसमध्ये काठमाडौँमा चार हजारसहित नेपालमा करिब आठ हजार मानिसको मृत्यु भएको थियो । त्यही दिनको स्मरण गर्दै माघ २ गते ‘राष्ट्रिय भूकम्प सुरक्षा दिवस’ मनाउन थालिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *