खजुरामा विद्यालयको तीन कोठे नयाँ भवन निर्माण

बाँकेको खजुरा गाउँपालिका वडा नं. ४ मा मनकामना आधारभूत विद्यालयको तीन कोठे नयाँ भवन निर्माण भएको छ । भूकम्प प्रतिरोधी नयाँ सुविधा सम्पन्न भवनको शुक्रवार खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले उद्घाटन गर्नु भएको छ ।
विल्ड अन नेपालबाट २१ लाख ६ हजार ३६१ रुपैयाँ बराबरको निर्माण सामाग्री, खजुरा गाउँपालिकाबाट ५ लाख, खजुरा गाउँपालिका वडा नं. ४ बाट १ लाख ५० हजार, विद्यालयको आन्तरिक स्रोतबाट ९९ हजार ६२६ रुपैयाँ र जनश्रमदान गरी उक्त भवन निर्माण गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष कक्षपतिले शिक्षाको गुणस्तर सुधारका लागि खजुरा गाउँपालिकामा जनप्रतिनिधि आएदेखि नै बजेटमा प्राथमिकता दिएर भौतिक संरचना निर्माणका साथै खेलकुद, अतिरिक्त क्रियाकलाप, शैक्षिक महोत्सव, दिवा खाजालगायत कार्यक्रम अगाडि सारेको बताउनु भयो ।
खजुरा गाउँपालिका वडा नं. ४ का अध्यक्ष तिलकवीर सुनारले वडा नं. ४ मा खेलकुद, शिक्षा, स्वास्थ्य सबै संरचना निर्माण भएको उल्लेख गर्दै आगामी वर्षदेखि वडा कार्यालयको लागि बजेट माग गरिने बताउनु भयो ।
मनकामना आधारभूत विद्यालय बलभद्रपुर व्यवस्थापन समितिका अध्यक्ष देउराम बिसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक तीर्थबहादुर विकले विद्यालय भवन बनेकोमा आभार व्यक्त गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *