आयोगले हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि युवा मतदाता समेट्दै

निर्वाचन आयोगले आगामी वैशाख १६ गते १८ वर्ष उमेर पुगेका नेपाली नागरिकलाई मतदाता नामावलीमा समेट्न आन्तरिक गृहकार्य अगाडि बढाएको छ । आयोगले २०७८ वैशाख १७ र २७ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि युवा मतदाताको सहभागिता बढोस् भन्ने उद्देश्यले यस्तो गृहकार्य अगाडि बढाएको हो ।

आयोगले यसअघि निर्वाचनको मिति घोषणा भएकै दिनलाई आधार मानेर सो दिनसम्म १८ वर्ष उमेर पुगेका र फोटोसहित विवरण टिपाएका नेपाली नागरिकलाई मतदाता नामावलीमा समावेश गर्दै आएको थियो । यस पटक भने वैशाख १६ गतेसम्म १८ वर्ष उमेर पुगेका र फोटोसहितको विवरण आयोगका जिल्लास्थित कार्यालयहरूमा समावेश गराइसकेका नागरिकले मात्रै मतदाता हुन पाउने छन् ।

उमेर १६ वर्ष पुगेपछि नेपाली नागरिकता बनाउन पाउने र नागरिकता बनाउँदा नै मतदाता हुनका लागि फोटोसहितको विवरण समावेश गराएका नागरिक १८ वर्ष पुगेपछि स्वतः मतदाता नामावलीमा समावेश हुनेछन् । विगतको परम्परालाई परिवर्तन गर्दै आयोगले मतदाता हुनु अघिल्लो दिन १८ वर्ष उमेर पुगेका र फोटोसहितको मतदाता विवरणमा नाम रहेकालाई समेट्ने निर्णय गरेमा युवा मतदाताको सङ्ख्या केही हदसम्म बढ्ने छन् ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको मिति घोषणा भएपछि अब आयोगले नयाँ मतदाता सङ्कलन अभियान सञ्चालन गर्न नसक्ने कानुनी व्यवस्था रहेको बताउनुभयो । मतदाता नामावली ऐन २०७३ को दफा ४ को उपदफा ९२० मा ‘निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचनको प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गरिने छैन’ भन्ने स्पष्ट कानुनी व्यवस्था छ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले हालसम्म एक करोड ५४ लाखभन्दा बढी मतदाता रहेको जानकारी दिनुभयो । उहाँले हालसम्म सङ्कलन भएका मतदाताको नामावलीलाई अध्यावधिक गर्ने प्रक्रिया सुरु भइसकेको बताउनुभयो ।
आयोगले पुस ५ गतेबाट ७७ जिल्लामा चालू रहेको मतदाता नामावली सङ्कलन कार्य स्थगित गर्ने निर्णय गरिसकेको छ । आयोगले अब निर्वाचन प्रयोजनका लागि हालसम्म सङ्कलन भएका मतदाता नामावलीलाई अद्यावधिक गरेर मतदाताको सूचीमा समावेश गर्ने प्रक्रियालाई अगाडि बढाएको छ ।

अद्यावधिक मतदाता नामावली प्राप्त भएको मितिले ३५ दिनभित्र केन्द्रीय डाटा बेसमा दोहोरिएको यकिन (डुप्लिकेसन भेरिफिकेसन) समेत गरी आयोगले पुनरवलोकन गर्न सक्ने व्यवस्था छ । पुनरवलोकन गरी तयार गरिएको अन्तिम मतदाता नामावली आयोगले स्वीकृत गरी प्रकाशन गर्नुपर्ने व्यवस्था छ । अन्तिम मतदाता नामावलीमा कुनै प्रकारबाट हेरफेर, थपघट गर्न वा सच्याउन सकिने छैन ।

आयोगले अन्तिम मतदाता नामावली सर्वसाधारणको जानकारी तथा मतदाताको पहुँचको लागि आफ्नो वेबसाइटमा समेत राख्दै आएको छ । मतदाता नामावलीमा कुनै व्यक्तिको नाम दर्ता भएको वा नभएको, दर्ता गर्न हुने वा नहुने भन्ने विषयमा कुनै पनि अदालतमा प्रश्न उठाउन सकिने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *