नेकपा विवाद निर्वाचन आयोगको इजलासमा

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद अब औपचारिक रूपमै निर्वाचन आयोगमा शुक्रबार दर्ता भएको छ । निर्वाचन आयोगले इजलास बसेर नै यो विषय टुङ्गो लगाउने जनाएको छ ।

नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेताहरू माधवकुमार नेपाल, झलनाथ खनालसहितका शीर्ष नेताहरूले कानुन व्यवसायीको सहयोगमा औपचारिक रूपमै आयोगमा आधिकारिकताको दाबी गर्नुभएपछि यो प्रक्रिया सुरु भएको हो । नेकपाको प्रचण्ड–नेपाल समूहले निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई त्यससम्बन्धी ज्ञापनपत्र बुझाएको छ । सो समूहले नेकपाको आधिकारिक पक्ष आफूहरू भएको र दलको नाम, निर्वाचन चिह्नको दाबीसमेत गरेको छ । यो दाबीसँगै अब नेकपाको विवादको निरुपण आयोगको इजलासमा प्रवेश गरेको छ ।

ज्ञापनपत्र बुझ्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले संविधान र निर्वाचनसम्बन्धी कानुनमा व्यवस्था भएअनुुरूप विवाद निरुपणको प्रक्रिया प्रारम्भ हुने जानकारी दिनुुभयो । दलको विधान, स्थापित नजिर र प्रचलित कानुनका आधारमा राजनीतिक दलसम्बन्धी ऐनले दिएको अधिकार क्षेत्रभित्र रही आयोगले न्याय निरुपण गर्ने उहाँले बताउनुभयो ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ (पहिलो संशोधन, २०७४) र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ का आधारमा दलसम्बन्धी विवादको निरुपण हुनेछ । राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ मा दुई वा दुईभन्दा बढी दलबीच दलको नाम, दलको छाप, विधान, झण्डा वा चिह्न, दलका पदाधिकारी, केन्द्रीय समिति वा केन्द्रीय समितिको निर्णयको आधिकारिकताका विषयमा विवाद उत्पन्न भएमा त्यसको निरुपण आयोगले गर्ने स्पष्ट व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *