मह उत्पादन घटेपछि सल्यानका किसान चिन्तित

मह उत्पादनका लागि राम्रो सम्भावना रहेको सल्यानमा यस वर्ष भने मह उत्पादन घटेको छ। जिल्लामा पकेट क्षेत्रका रुपमा घोषणा भएका गाउँहरुमा मह उत्पादन घट्न थालेपछि किसानहरु मर्कामा परेका छन्। मह उत्पादन घटेपछि मौरीपालक किसान चिन्तित बनेका छन्।

गत वर्ष १४ क्विन्टल मह बिक्री गरेको कालिमाटी गाउँपालिका २ झिँगानेका लोकेन्द्र वलीले यस वर्ष मुस्किलले तीन क्विन्टल हुने बताउनुभयाे। मौरी पालनलाई प्रमुख व्यावसाय बनाउनुभएका वलीले यस वर्ष भने मह उत्पादन घट्दा समस्या भएको बताउनुभयाे। यस वर्ष चिउरी निकै कम मात्रामा फूल्नु तथा फूलेका फूलमा पनि रस नहुनु, वनमा झुसिलकिराको प्रकोप लगायतका कारण मह उत्पादन घटेको वलीको भनाइ छ।

महको उत्पादन घट्दा जीविकोपार्जनमा समेत समस्या भएको अर्का किसान वेत बहादुर वलीले बताउनुभयाे। गत वर्ष ६ क्विन्टल भन्दा बढी मह बिक्री गरेका वेतबहादुर यो वर्ष दुई क्विन्टल पनि नपुग्ने भन्नुभयाे।

मह उत्पादन कम भएपछि यो वर्ष महको मूल्यमा समेत वृद्धि भएको छ। गत वर्ष आठ सय रुपैयाँ किलो बिक्री भएको मह यो वर्ष भने एक हजार रुपैयाँमा बिक्री भएको छ।

गत वर्ष सल्यानमा १२ मेटिक्टन मह उत्पादन भएको कृषि विकास कार्यालय सल्यानको तथ्यांकमा उल्लेख गरिएको छ। जिल्लामा करिब १ हजार ५ सय ३० भन्दा बढी मौरी घार रहेको कार्यालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *