नेपालले आफ्नै साधन, स्रोत र जनशक्ति प्रयोग गरी पहिलोपटक मापन गरिएको सगरमाथाको नयाँ उचाइ आज सार्वजनिक गर्ने भएको छ।
फिल्ड सर्वेक्षणबाट प्राप्त नापी विभागकै जनशक्तिद्वारा आफ्नै प्रयोगशालाबाट प्रशोधन तथा चीनका समकक्षी प्राविधिक तथा निर्देशक समिति तहमा छलफल भई सगरमाथाको उचाइ सार्वजनिक गर्न लागिएको हो। दुवै देशले दिउँसो पौने २ बजे औपचारिक कार्यक्रममार्फत् एकैपटक सगरमाथाको उचाइ सार्वजनिक गर्ने तयारी गरेका छन्। नेपालले आयोजना गर्ने कार्यक्रमको नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले जानकारी दिनुभयो।
गत मंसिर १० मा मन्त्रिपरिषद् बैठकले सगरमाथाको उचाइ घोषणाको स्वीकृति दिएको हो। नेपालले आफ्नै स्रोत–साधनबाट दुई वर्षअघिदेखि सुरु गरेको उचाइ मापनको परिणाम सार्वजनिक गर्ने क्रममा भने चीन जोडिएको छ। चीनका राष्ट्रपति सी चिनफिङ गत वर्ष नेपाल भ्रमणमा आएका बेला सगरमाथाको उचाइ संयुक्त रूपमा घोषणा गर्ने सहमति भएको थियो।
नेपालले आधिकारिक रूपमा उल्लेख गर्ने आठ हजार ८४८ मिटर उचाइ भारतले सन् १९५४ मा मापन गरेको हो। नेपालले अहिलेसम्म यसलाई आधिकारिक रूपमा मान्यता दिएको छ ।