बाँकेमा कोरोनाका कारण थप दुई जनाको मृत्यु

बाँकेमा उपचारको लागि अस्पतालमा ल्याइएका बर्दिया र कञ्चनपुरका दुई जना संक्रमितको सोमबार बिहान उपचारका क्रममै मृत्यु भएको छ ।

शुक्लाफाँटा–५ कञ्चपुरका ७३ वर्षीय पुरुषको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा र गेरुवा गाउँपालिका वडा नं. ७ बर्दियाका ७२ वर्षीय पुरुषको उपचारको क्रममा सोमबार बिहान भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार बर्दियाका पुरुषको सोमबार बिहान १ः११ बजे र कञ्चनपुरका पुरुषको बिहान १ः४५ बजे मृत्यु भएको हो ।कञ्चनपुरका पुरुषको कोभिड–१९ को लक्षणका कारण मङ्सिर १२ गते सेती अस्पतालमा स्वाव परीक्षण गरिएकोमा मङ्सिर १३ गते कोभिड–१९ पोजेटिभ नतिजा आएको थियो ।

उहाँको स्वास्थ्यमा समस्या आएपछि मङ्सिर १५ गते नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना गरी रोगको प्रकृति अनुसार सम्पूर्ण विधिबाट उपचार गर्दागर्दै सोमबार बिहान १ः४५ बजे मृृत्यु भएको अस्पतालले जनाएको छ ।
यसैगरी बर्दियाका पुरुषमा कोभिड–१९ को लक्षणका कारण मङ्सिर १३ गते भेरी अस्पतालमा नमूना संकलन गरिएकोमा मङ्सिर १४ गते परीक्षण गर्दा कोभिड–१९ पोजेटिभ आएको थियो ।श्वासप्रश्वासमा समस्या भएका ती पुरुषको स्वास्थ्यमा समस्या आएपछि मङ्सिर १५ गते भेरी अस्पतालमा भर्ना गरि सम्पूर्ण विधिबाट उपचार गर्दागर्दै सोमबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

बाहिर जिल्लाबाट बाँके जिल्लामा आइ उपचारको क्रममा कोभिड–१९ संक्रमणबाट मृत्यु हुनेको संख्या ६४ पुगेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *