पहिलो टी ट्वान्टीमा भारतद्वारा अष्ट्रेलिया ११ रनले पराजित

भारतले अष्ट्रेलिया विरुद्धको पहिलो टी ट्वान्टी खेल ११ रनले जितेको छ। जितसँगै तीन म्याचको टी ट्वान्टी श्रृखंलामा भारतले १–० को अग्रता लिएको छ।

केनबेरामा भारतले प्रस्तुत गरेको १६२ रनको औसत लक्ष्य पछ्याउँदै अष्ट्रेलियाले पुरा २० ओभर खेलेपनि सात विकेटको क्षतिमा १५० रनमा मात्र सीमित हुन पुग्यो। अष्ट्रेलियाले उत्कृष्ट सुरुवात गरेपनि उसको मध्यक्रमका ब्याट्सम्यान चल्न नसक्दा घरेलु मैदानमा औसत लक्ष्य पाउन पनि उसलाई कठीन भयो। ओपनर डी आरसी शट र आरोन फिञ्चले पहिलो विकेटका लागि ५६ रन जोड्दा अष्ट्रेलियाको जित सहज देखिएको थियो। तर स्पिनर युज्वेन्द्र चाहलले उत्कृष्ट बलिंग गरेपछि अष्ट्रेलियाका लागि लक्ष्य भेटाउन मुश्किल भयो। अष्ट्रेलियाका लागि शटले ३४ तथा फिञ्चले ३५ रनको योगदान दिनुभयो। मोइजेज हेनरिक्सले ३० रन बनाउनुभयो।

भारतका लागि चाहलले चार ओभरमा मात्र २५ रन खर्चेर उत्कृष्ट लयमा रहेका आरोन फिञ्च र स्टिभ स्मिथ तथा म्याथ्यु वाडेको गरी तीन विकेट लिनुभयो। अर्का बलर टी नटराजनले समेत तीन विकेट लिनुभयो। दीपक चाहरले एक विकेट लिनुभयो ।

यसअघि टस हारेर पहिला ब्याटिंग गर्ने निम्ताे पाएको भारतको शिखर धवनको रुपमा ११ रनमै पहिलो विकेटको पतन भएपछि ऊ दबाबमा आएको थियो। अर्का ओपनर लोकेश राहुल संयमित पारी खेल्दै गर्दा कप्तान विराट कोहली, सञ्जु सैम्सन, मनिष पाण्डे र हार्दिक पाण्ड्याको विकेट झरेपछि भारत थप दबाबमा परेको थियो। तर पारीको अन्त्यतिर अलराउण्डर रबिन्दर जडेजाले मात्र २३ बलमा ४४ रनको उत्कृष्ट पारी खेलेपछि भारतले २० ओभरमा सात विकेटको क्षतिमा १६१ रनको योगफल तयार गर्न सफल भयो।

पारीको अन्तिम ओभरमा रबिन्दर जडेजा घाइते भएपछि म्याच रेफ्रीको अनुमतिमा चाहलले जडेजालाई विस्थापित गर्नुभएको थियो।
अष्ट्रेलियाका लागि मोइजेज हेनरिक्सले सर्वाधिक तीन तथा मिसेल स्टार्कले दुई र एडम जाम्पा र मिसेल स्वेप्सनले सामान एक एक विकेट लिनुभयो। चाहल प्लेयर अफ द् म्याच घोषित हुनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *