नेपालमा १७ लाख ५४ हजार ६३०को कोरोना भाइरस परीक्षण

नेपालमा कोरोना भाइरसका एक हजार ४९० जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ३६हजार २४६ पुगेको छ ।

आठहजार तीनसय वटा आरटी पीसीआरको नमुना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार १७ लाख ५४ हजार ६३० परीक्षण भइसकेको छ ।

पछिल्लो चौबीस घण्टामा एक हजार ३०४ जना सङ्क्रमित थपिएकाे पुष्टि भएको उल्लेख गरेको छ । हाल १६ हजार ५४७ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा एक हजार ५६७ जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख १६ हजार १६१ जना सङ्क्रमित निको भइसकेका छन् । नेपालमा कोभिड–१९ को संक्रमणमुक्त हुने दर ९२.३४ प्रतिशतमा उक्लेको छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा नाै जना सङ्क्रमितको मृत्यु भएको उल्लेख गरेको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट एक हजार ५३८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले हाल ६०५ जना क्वारेन्टिनमा रहेको जनाएको छ ।

यसैबीच, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले १५ दिनसम्म निर्णय पूर्णरुपमा कार्यन्वयन गर्ने र आगामी १५ दिनको संक्रमणको अवस्था हेरेर थप निर्णय गर्न सकिने बताउनुभएकाे छ ।

उहाँले अझै १५ दिन बन्द रहने सेवामा सिनेमा हल तथा रात्रीकालिन व्यवसाय रहेको बताउनुभयो । धेरै मानिस जम्मा हुने स्थान र जनस्वास्थ्यका मापदण्ड उलंघन हुने सेवा तथा कार्यहरु अझै १५ दिनसम्म बन्द गर्नुपर्ने बताउनुभयो ।

गौतमका अनुसार सभा सम्मेलन जुलुस, धर्ना घेराउजस्ता कार्यक्रम गर्न पाइने छैन । विद्यालय खोल्ने हकमा थोरै विद्यार्थी भएका ठाउँबाट सुरु गरी स्वास्थ्य मापदण्ड कडाइकासाथ पालना गर्नु पर्नेछ । यसका लागि स्वास्थ्य सेवा विभाग सँगको समन्वयमा निर्णय गरी सीसीएमसीलाई पठाउने निर्णय स्वास्थ्य मन्त्रालयले गरेको प्रवक्ता गौतमले बताउनुभयो ।

डा. गौतमले अझै १५ दिन नखोल्न भनिएका सेवा तथा व्यवसायलाई कडाईका साथ बन्द गरी निर्देशन पालना गर्न आग्रह गर्नुभयो । उहाँले मङ्सिर महिनापछि विद्यालय खोल्ने भन्दै स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण रुपमा लागू गरी कम विद्यार्थीहरु भएको ठाउँमा सञ्चालन गर्न सकिने निर्णय भएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *