नेकपाको सचिवालय बैठक बालुवाटारमा शुरू

फाइल फोटो

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा शुरू भएको छ। सो कुराको जानकारी प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दिनुभयो।आजको बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन पेश हुनेछ।
यसअघि मंसिर ३ गते बुधबार बसेको सचिवालय बैठक १० दिनपछि पुनः बसेको हो। यसअघि बसेको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो तर्फबाट बैठकमा प्रस्ताव पेश गर्नुभएको थियो। तर सो प्रस्ताव दुवै अध्यक्षको सहमतिमा नआएकाले त्यसलाई आधिकारिक प्रस्ताव भनिएको छैन।

बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रस्ताव पेश गर्नुहुँदै पार्टीको आगामी कार्यदिशाबारे समेत त्यसमा विषय समेट्नुहुनेछ। यसअघि अध्यक्ष प्रचण्डले पेश गर्नुभएको प्रस्तावमा उठाइएको प्रश्न तथा आरोपको बुँदागत तथा तथ्यगत जवाफ प्रतिवेदनमा आउने थापाले बताउनुभयो। उहाँका अनुसार प्रतिवेदनमा जवाफमात्र नभई पार्टीले गर्नुपर्ने काम र समस्या समाधानको पहलसमेतको विषय प्रस्तुत हुनेछ।

यसअघि बसेको सचिवालय बैठकले १८ गते स्थायी कमिटी बैठक बस्ने मिति तय गरिसकेको छ। त्यस्तै, २५ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ। सचिवालय बैठकमा आज अध्यक्ष ओलीको प्रस्ताव पेश भएपछि त्यसमा धारणा राख्न तथा एजेण्डामा छलफल गर्न थप दुई तीन बैठकको आवश्यकता पर्ने नेताहरुको बुझाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *