अन्ततः१२ कक्षा को परीक्षा भौतिक उपस्थितिमै सुरु

लामो समयको अन्यौलपछि अन्ततः कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै सुरु भएको छ। कोरोना संक्रमण सुरु भएपछि गत वैशाखमै हुनुपर्ने परीक्षा झण्डै सात महिनापछि सुरु भएको हो।

राष्ट्रिय परीक्षा बोर्डले स्थानीय तहको समन्वयमा कोरोना सम्बन्धी मापदण्ड अपनाएर देशभर एक साथ परीक्षा सन्चालन गरेको हो। बोर्डका अध्यक्ष प्रा.डा: चन्द्रमणि पौडेलले पहिलो दिनको परीक्षा देशभर सहजरुपमा सम्पन्न भएको बताउनुभयाे। उहाले  भन्नुभयाे, ‘आज पहिलो दिन भएकाले कतैकतै केही मिनेट ढिलो सुरु भएको छ, तर समग्रमा परीक्षा शान्तिपूर्ण र सहजरुपमा नै भएको रिपोर्ट हामीलाई आएको छ।’

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोख्रेलले काठमाडौं उपत्यकाका केही परीक्षा केन्द्रको स्थलगत अनुगमन पनि गर्नुभएकाे थियाे। विश्वनिकेतन मा:वि को अवलोकनपछि उहाले सही व्यवस्थापनबाट सहजरुपमा परीक्षा सन्चालन भएको भन्दै खुसी व्यक्त गर्नुभएकाे थियाे।

विश्वनिकेतन माविका प्रध्यानाध्यापक हिरम्बराज कँडेलले विद्यार्थीहरुले भयरहित वातावरणमा परीक्षा दिएको बताउनुभयाे ।

बिहान ८ बजेबाट सुरु भएको परीक्षा साढे एक घण्टा तोकिएको थिय । बोर्डले यस पटक ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिएको छ। थप ४० प्रतिशत अंक कक्षा ११ को र २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडिने छ। कक्षा १२ को परीक्षामा ४ लाख ३२ हजार ५ सय परीक्षार्थीहरु सहभागी छन्

बोर्डका अध्यक्ष प्रा:डा:पौडेलले परीक्षार्थीहरुबीच कम्तीमा दुई मिटर दुरी कायम गरी एउटा कोठामा २० जनासम्म मात्र राखेर परीक्षा सन्चालन गरिएको बताउनुभयाे।

परीक्षार्थीहरु, केन्द्राध्यक्ष र निरीक्षकहरुले अनिवार्य मास्क लगाउने र सबैको ज्वरो नापेर मात्रै परीक्षा केन्द्रमा प्रवेश गर्ने व्यवस्था मिलाइएको छ। परीक्षा केन्द्रहरुमा सेनिटाइजर र हात धुनका लागि साबुन पानीको समेत व्यवस्था गरिएको बोर्डका अध्यक्ष पौडेलले बताउनुभाे।

यसपटक परीक्षार्थीहरुले आफ्नै विद्यालयबाट र जो जहाँ छ, त्यहाँको पायक पर्ने परीक्षा केन्द्रबाट परीक्षा दिन पाएका छन्।

प्रमुख जिल्ला अधिकारी नेतृत्वको समितिले परीक्षामा सुरक्षाको प्रबन्ध मिलाएको छ भने परीक्षा सन्चालनमा स्थानीय तहले सहयोग गरेका छन्। परीक्षाको अनुगमन र निगरानी गर्न बोर्डमा कन्ट्रोल रुमको समेत व्यवस्था गरिएको छ। कक्षा १२ को परीक्षा मंसिर १६ गते सकिने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *