नेपाली सेयर बजारमा नयाँ रेकर्ड कायम, एकैदिन ६ अर्ब बढीको कारोबार

नेपाली सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ। साताको अन्तिम दिन बिहीबार सेयर कारोबार रकम ६ अर्ब भन्दा धेरै भएर नयाँ रेकर्ड राखेको हो।

नेपाल स्टक एक्सचेञ्ज नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले सेयर कारोबार रकमले नयाँ रेकर्ड कायम गरेको पुष्टि गरे । उनले भने, ‘यसअघि एकैदिन ४ अर्ब ८५ करोड रुपैयाँको कारोबार भएको थियो, आज नयाँ रेकर्ड कायम भएको हो।’ नेप्सेमा कारोबार हुने सबै उपसमूहहरु बिहीबार उकालो लागेका छन्। सेयर कारोबार मापक नेप्से परिसूचक पनि ३० अंक माथिले बढेको छ। बजारमा उल्लास देखिए पछि सेयर बजारका लगानीकर्ताहरु खुसी भएका छन्।

नेप्से ३६ अंकले बढ्यो

बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक ३६ दशमलव ३२ अंकले बढेर १ हजार ७ सय ७८ दशमलव १२ अंकमा पुगेको छ। ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.४७ प्रतिशत अर्थात ४.९८ प्रतिशतले बढेको छ।

दिनभर भएका ५६ हजार ३ सय ४१ कारोबारबाट १ सय ९८ कम्पनीका १ करोड ४० लाख ६२ हजार ५ सय ७ कित्ता सेयर किनबेच भएका छन्। जसअनुसार कारोबार रकम ६ अर्ब ११ करोड ६७ लाख ३० हजार ७१ रुपैयाँ पुगेको छ। यो नेपाली सेयर बजारको इतिहासकै सबैभन्दा धेरै हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *