नेपाल कम्युनिष्ट पार्टी नेकपा को सचिवालय बैठक सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले अर्को बैठक १३ गते शनिबार बस्ने निर्णय गरेको छ।
अर्को बैठकमा अध्यक्ष केपी शर्मा ओलीले बैठकको नयाँ प्रस्ताव तयार गरेर बैठकमा प्रस्तुत गर्नुहुने निर्णय भएको प्रवक्ता नारायण काजी श्रेष्ठले जानकारी दिनुभयो। सचिवालय बैठकको विषयबारे थप छलफल र अनुमोदन गर्न १८ गते विहिबार स्थायी कमिटी बैठक बस्ने उहाँले जानकारी दिनुभयो।
त्यस्तै, केन्द्रीय कमिटीको बैठक २५ गतेका लागि सार्ने निर्णय गरिएको छ। यसअघि केन्द्रीय कमिटी बैठक १५ देखि १७ गतेसम्म बस्ने तय भएको थियो ।
पार्टीको आन्तरिक संकटलाई निवारण गर्ने उद्देश्यले बसेको सचिवालय बैठकले उचित निर्णय गर्ने प्रवक्ता श्रेष्ठले बताउनुभयो । बैठकपछि पत्रकारलाई संक्षिप्त जानकारी दिनुहुँदै उहाँले यसअघि प्रस्तुत सबै प्रस्तावबारेमा छलफल गरी उचित निकास निकालिने बताउनुभयो ।