आगामी शुक्रबार हुने मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीले बंगलादेशको ढाकामा तयारीलाई तीव्रता दिएको छ।
दुई मैत्रीपूर्ण खेलका लागि गत बिहीबार बंगलादेशको ढाका पुगेको नेपालीले टोलीले केही दिनयता बंगलादेशमा रहेर फुटबलमा फर्किन लागेको हो। करिब नौ महिनापछि फर्किन लागेको फुटबल खेलअन्तर्गत नेपालले शुक्रबार पहिलो खेल खेल्न लागेको हो।
त्यसका लागि खेलाडी निकै उत्साहित देखिएका छन्। काठमाडौंको एक साता अभ्यासपछि थप एक साता बंगलादेशमा अभ्यास गर्ने योजनासहित नेपालबाट उडेको टोलीले दोस्रो मैत्रीपूर्ण खेल भने तिहारको भोलिपल्ट अर्थात मंसिर २ गते खेल्ने तालिका रहेको छ।
खेलमा फर्किँदा उत्साहित भएका खेलाडीले मैत्रीपूर्ण खेलमा सुखद् नतिजा ल्याउने लक्ष्यका साथ अभ्यासमा मिहिनेत गरिरहेका हुन्। प्रशिक्षक बालगोपाल महर्जनले पनि खेलाडीमा फिटनेस सुधार हुँदै गएको र बंगलादेशसँगको खेलमा राम्रो नतिजा ल्याउनेमा आशावादी रहेको यसअघि बताइसकेका छन्।
बंगलादेशको ढाकामा रहेको नेपाली टोलीले आइतबार मैदानमा दुई घण्टा प्रशिक्षण गरेको थियो। नेपाली फुटबल टोली कोभिड-१९ संक्रमणको जोखिमका कारण बिहीबारदेखि ढाकामा होटेल क्वारेन्टाइनमा बसेको थियो।
क्वारेन्टाइनमा रहेको टोलीको पिसिआर रिपोर्ट नेगेटिभ आएसँगै प्रशिक्षणका लागि मैदानका फर्किएको हो। बंगलादेशसँग कात्तिक २८ र मंसिर २ गते बंगबन्धु रंगशालामा हुने मैत्रीपूर्ण खेल नेपाली समयअनुसार दिउँसो ४ः४५ बजे हुने तालिका छ।