भेरी अस्पतालमा उपचारका लागि आउने बिरामी र कुरुवाहरुका लागि २० रुपियाँमा पेटभरि खाना

 

भेरी अस्पताल नेपालगञ्जमा उपचारका लागि आउने बिरामी र कुरुवाहरुका लागि २० रुपियाँमा पेटभरि खाना दिन थालिएको छ । नेपालगञ्ज उप–महानगरपालिका र श्री सुन्दरकाण्ड मित्र मण्डलले सुरु गरेको अभियानमा खाना खान आउनेहरुको सङ्ख्या दिन प्रतिदिन बढिरहेको छ । सुन्दरकाण्ड मित्र मण्डलका संरक्षक विजय गुप्ताले दैनिक चारसय जनालाई आफहरुले खाना खुवाउन सक्ने जानकारी दिनुभयो ।

हाल दैनिक एकसय पचास जनासम्म ब्यक्तिले खाना खाईरहेको गुप्ताले जानकारी दिनुभयो । कोभिड–१९ का बिरामीहरुको उपचारसँगै भेरी अस्पतालमा पश्चिम नेपालका विभिन्न जिल्लाबाट दैनिक सयौं ब्यक्ति उपचारका लागि आउने गरेका छन् । विपन्न ब्यक्ति तथा अस्पतालमा उपचाररत बिरामी र कुरुवालाई लक्षित गरी २० रुपियाँमा खाना खुवाउन थालिएको मित्र मण्डलले जनाएको छ ।
नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले मानवीय कार्यमा स्थानीय सरकार सधै सहयोगका लागि तयार रहेको बताउनुभयो । २० रुपियाँमा एकदमै राम्रो खाना दिन सक्नु आफैमा पुण्यको काम हो, आईतबार खाना स्थलमा पुग्नुभएका प्रमुख डा। राणाले भन्नुभयो,– यस्ता कार्यमा सबैको सहयोग हुनुपर्छ ।

अस्पताल परिसरमा शनिबार बाहेक हरेक दिन बिहान १० देखि १ बजेसम्म खाना खुवाउने कार्य चलिरहेको छ । आईतबार भेरी अस्पतालमा पुगेर २० रुपियाँमा खाना खाएपछि बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले खानाको गुणस्तर राम्रो पाएको बताउनुभयो । यसलाई निरन्तरता दिनुपर्छ, प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले भन्नुभयो,– मानवीय सहयोगका कार्यमा सक्नेजतिले सहयोग गर्नुपर्छ । अभियानमा नेपालगञ्ज उप–महानगरपालिकाले मासिक ५० हजार रुपियाँ सहयोग गर्दै आएको छ । अन्य खर्च मित्र मण्डलले सहयोगी दातालगायतबाट ब्यवस्थापन गर्दै आएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *