कोरोना भाइरसका कारण बाँकेमा एक जना पुरुषको मृत्यु

                                        फाइल फोटो

कोभिड- १९ का कारण बिरामी भई बाँकेमा उपचार गराइरहेका दाङका थप एक जनाको ज्यान गएको छ ।

घोराही उपमहानगरपालिका वडा नम्बर ४, दाङका ७० वर्षिय कोरोना संक्रमित एक पुरुषको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा शनिवार बिहान ५;०० बजे मृत्यु भएको जिल्ला कोभिड- १९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

उहाँको स्वास्थ्यमा समस्या देखिएपछि कात्तिक ११ गते अस्पतालको आइसियुमा भर्ना गरिएको, कोरोनाको आशंकामा १२ गते कोरोना परिक्षणका लागि स्वाब संकलन गरिएको र सोही दिन आएको रिपोर्टमा उनलाई कोरोना संक्रमण देखिएको थियो । कोरोना पुष्टि भए पश्चात् उहाँलाई अस्पतालको कोभिड- १९ वार्डमा भर्ना गरि उपचार शुरु गरिएको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्रका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनु भयो ।

उपचारको क्रममा रोगको प्रकृति अनुसार गरिनु पर्ने अक्सिजन, रेम्डेसिभर, एन्टिबायोटिक लगायतका सबै प्रकारको सपोर्टिभ उपचार गर्दागर्दै शनिवार बिहान ५ बजे उहाँको मृत्यु भएको अस्पतालले पुष्टि गरेको श्रेष्ठले जानकारी दिनु भयो ।

यो सँगै बाहिरी जिल्लाबाट कोरोना उपचार गर्न बाँके आएर मृत्यु हुनेको संख्या १८ पुगेको छ ।हिजो मात्रै दाङकै राप्ती गाउँपालिका वडा नम्बर १, का ६५ वर्षिय कोरोना संक्रमित एक पुरुषको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *