लुम्बिनी प्रदेशका मुख्यमन्त्री देखि जनप्रतिनिधिले पर्व खर्च नलिने


लुम्बिनी प्रदेश सरकारले मुख्यमन्त्री, मन्त्रीहरु, प्रदेशसभाका सभामुख, प्रदेशसभा सदस्यहरु र स्थानीय तहका जनप्रतिनिधिका लागि चाडपर्व खर्चको सुविधान नलिएको जानकारी दिइएको छ ।

मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले आज प्रेस विज्ञप्ती जारी गर्दै सो कुराको जानकारी दिनु भएको छ । प्रेस विज्ञप्तीमा भनिएको छ, यतिखेर जनप्रतिनिधि र चाडपर्व खर्चको बारेमा चर्चा हुन थालेको छ । त्यस अनुसार माननीय मुख्यमन्त्री,मन्त्रीहरु,प्रदेशसभाका सभामुख, प्रदेशसभा सदस्यहरु र स्थानीय तहका जनप्रतिनिधिहरुले अहिलेसम्म चाडपर्व खर्च(दशैं खर्च) नलिएको सबैलाई जानकारी गराउन चाहन्छु ।

प्रदेश सरकारका सबै कामलाई अझ पारदर्शी र प्रभावकारी बनाउन सो कुराको जानकारी दिइएको बताइएको छ । विज्ञप्तीमा उल्लेख छ, यतिखेर हामी संघीयताको व्यवहारिक कार्यान्वयनको चरणमा छौं । संवैधानिक व्यवस्था अनुसार संघीय शासन प्रणालीलाई व्यवहारिक कार्यान्वयन गर्दै जनअपेक्षा अनुसार उत्तरदायी र जवाफदेही शासन प्रणालीको रुपमा तहगत सरकारहरुले काम गरिरहेका बताइएको छ ।

साढे दुई वर्षको अवधिमा प्रदेश सरकारले बलियो जग हाल्न सफल भएको छ । यो अवधिमा आवधिक योजना निमार्ण गर्दै त्यही आधारमा बजेट निर्माणको काम प्रारम्भ भएको छ । अब मागका आधारमा नभई योजनाका आधारमा बजेट विनियोजन हुने संस्थागत संरचना तयार भएको छ । असोज २० गते प्रदेशसभाबाट प्रदेशको नाम लुम्बिनी र राजधानी राप्ती उपत्यका टुंगो लगाएपछि प्रदेश सरकार अब प्रदेशलाई संस्थागत गर्ने नयाँ विन्दुमा पुगेको उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *