नेपालका रेल जनकपुर आइपुगे

सरकारले जनकपुर-जयनगर रूटमा सञ्चालनका लागि भारतसँग किनेको रेल शुक्रबार दिउँसो डेढ बजे जनकपुर आइपुगेको छ । नेपालको राष्ट्रिय झण्डाको रंगमा तयार भएको रेल भारतको पटनास्थित हाजीपुर स्टेसनबाट जयनगर हुँदै जनकपुर आइपुगेको हो ।

नेपालले भारतको कोंकन रेल्वे कर्पोरेसनसँग ८४ करोड ६५ लाखमा खरिद गरेको २ सेट रेलको बगी र ४ वटा इन्जिन नेपाल भित्रिएको हो ।

कोरोना भाइरसको महामारीका कारण दुवै रेल गत फागुनदेखि भारतको बिहारस्थित हाजीपुरमा रोकिएका थिए । अहिले दुवै देशमा यातायात सञ्चालन भएपछि परीक्षणका लागि रेल नेपाल ल्याइएको हो । रेल नेपाल आए पनि फेरि भारत नै फर्किनेछ ।

सञ्चालन नभएसम्म नेपाली रेल जयनगरस्थित स्टेसनमै रहने रेल्वे कम्पनीले जनाएको छ । त्यसको सुरक्षाको जिम्मा तत्कालका लागि भारतीय कर्मचारीलाई नै दिइएको छ । न्यारोगेजमा जनकपुर-जयनगर २९ किलोमिटर सञ्चालन हुँदै आएको रेल ०७१ माघदेखि बन्द भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *