जिल्लामा जुनसुकै समयमा पनि प्रमुख जिल्ला अधिकारीले कर्फ्यू लगाउन सक्ने

मुलुकमा अब जुनसुकै बेला कर्फ्यू लाग्न सक्ने भएको छ । कोरोना संक्रमण अत्याधिक रुपमा बढ्न थालेपछि मुलुकमा जुनसुकै बेला कर्फ्यू लाग्न सक्ने स्थिति आएको हो । सरकारले कर्फ्यू लगाउने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको छ ।सरकारले जोखिमको अवस्था हेरेर निषेधाज्ञादेखि कर्फ्यू लगाउनेसम्मको अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिएको हो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमणको जोखिम रहेका क्षेत्रमा निषेधाज्ञा गर्ने र कर्फ्यू लगाउने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको हो ।सरकारका प्रवक्ता एवं अर्थमन्त्री डा युवराज खतिवडाले जोखिमको अवस्था विश्लेषण गरी निषेधाज्ञा जारी गर्ने र आवश्यक परे कर्फ्यू लगाउने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिइएको जानकारी दिनु भयो ।

प्रमुख जिल्ला अधिकारीले जिल्लामा वा जिल्लाका कुनै स्थानमा निषेधाज्ञा जारी गरेको अवस्थामा सम्बन्धित क्षेत्रका सरकारी र सार्वजनिक कार्यालयका निश्चित कर्मचारीलाई कार्यालयमा उपलस्थित गराउने र अन्य कर्मचारीलाई ‘वर्क फ्रम होम’ को व्यवस्थापन सम्बन्धित कार्यालय प्रमुखले गर्नुपर्ने उहाले बताउनु भयो ।

सरकारले जारी गरेको निर्देशन, स्वास्थ्य मन्त्रालयले जारी गरेका मापदण्ड पालना गर्न सबैलाई आग्रह गर्दै पालना नगरेको खण्डमा कारबाही गर्न गृहमन्त्रालय र जिल्ला प्रशासन कार्यालयलाई निर्देशन समेत दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *