नेपाल आदिवासी जनजाति पत्रकार महासंघकाे २१ औं स्थापना दिवस

फोनिजको आज २१ औं स्थापना दिवस नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आफ्नो २१ औं स्थापना दिवस आज मनाउँदैछ । ‘सञ्चारमा समावेशीता- कानूनमा चाहियो, व्यवहारमा पनि !’ भन्ने नारा सहित संघीय समिति, प्रदेश समिति र देशभरीका ५४ जिल्ला शाखाले विविध कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाउँदै छ ।
यसपटकको स्थापना दिवस विगतको भन्दा पृथक ढंगले मनाउने तयारी छ । कोरोना भाइरस (कोभिड १९) का कारण भर्चुअल अन्तरक्रिया गरी स्थापना दिवस मनाइदैछ । फोनिज संघीय समितिले दिउँसो ४ बजे ‘स्थापना दिवस तथा अक्षयकोष घोषणा कार्यक्रम’ आयोजना गर्दैछ । कार्यक्रममा जुमको माध्यमबाट देशैभर र विदेशमा रहेका पत्रकार समेत सहभागी हुन पाउनेछन् ।
त्यस्तै फोनिज प्रदेश नं ५ का महासचिव गजेन्द्र गुरुङ र बाँके जिल्ला अध्यक्ष समिरमान श्रेष्ठले स्थापना दिवसको शुभकामना व्यक्त गर्दै अहिले कोरोनाले गर्दा जिल्लामा निषेधाज्ञा र विभिन्न क्षेत्र सील भएकोले अन्य विशेष कार्यक्रम आयोजना नगरेको जानकारी दिनु भयाे ।
नेपालका आदिवासी जनजाति पत्रकारहरुको साझा संस्था फोनिज पत्रकारजन्य अन्य संघसंगठनको तुलनामा विशिष्ट प्रकृतिको संगठन हो ।
फोनिजले स्थापना कालदेखि आदिवासी जनजाति पत्रकारहरुको हक, हित, अधिकार तथा स्वतन्त्र र समावेशी पत्रकारिताको संस्थागत विकासका साथै राष्ट्रियता, लोकतन्त्र, संघीयता, पहिचान, धर्मनिरपेक्षता, समानुपातिक, समावेशीता एवम् नागरिक अधिकारका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ । फोनिजको संघीय समिति सहित सातै प्रदेशमा प्रदेश समिति, ५४ जिल्लामा जिल्ला शाखा र प्रवासमा समेत प्रवास शाखाहरु क्रियाशील छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *