पार्टी अझै दृढताका साथ एकताबद्ध भएर जान्छ: अध्यक्ष प्रचण्ड

फाइल फोटो

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रकोपविरुद्धको सङ्घर्ष एकजुट भएर गर्नुपर्ने बताउनुभएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकलाई आज यहाँ सम्बोधन गर्दै उहाँले कोरोना र प्रकोपविरुद्धको सङ्घर्ष कमजोर हुन नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “मुलुक बाढीपहिराको उच्च जोखिममा छ । यस्तो बेलामा पार्टीका राजनीतिक गतिविधि र अन्य विवादले एकता कमजोर नहोस् । पार्टी एकतालाई कमजोर पार्ने काम कहीँ कतैबाट भयो भने त्यो जनताको पक्षको काम भन्ने ठहरिँदैन ।” पार्टी एकताको पक्षमा उठेका विषयमा भइरहेको पहललाई सकारात्मक रुपमा लिँदै उहाँले भन्नुभयो, “यसमा पनि तपाईँहरूको पहल भइरहेको छ । त्यसका लागि धन्यवाद ।” आगामी दिनमा अझै दृढताका साथ एकताबद्ध भएर अगाडि बढ्न उहाँले आग्रह गर्नुभयो ।

वर्षात्मा नभएर त्यसअघि नै विपद् व्यवस्थापनको तयारी र विकासनिर्माणको काम गर्नुपर्नेमा अध्यक्ष दाहालको जोड थियो । बैठकमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जिल्लाको समग्र विपद् व्यवस्थापनको पूर्वतयारी र अहिलेको अवस्थाबारे जानकारी गराउनुभएको थियो । सो अवसरमा प्रदेशसभा सदस्य, राजनीतिक दलका प्रमुख, स्थानीय तहका प्रमुख, सरोकार कार्यालयका प्रमुख तथा सरोकार सङ्घसंस्थाका प्रतिनिधिले आआफ्नो क्षेत्रको गतिविधि र धारणा राख्नुभएको थियो ।
चितवन क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य दाहाल उपस्थित भएको बेला पारेर विपद् व्यवस्थापन समिति बैठक राखिएको हो । अध्यक्ष दाहाल आफ्नै क्षेत्रमा पर्ने मेघौलीमा नारायणी नदीको कटान र माडी क्षेत्रमा भएको मानवीय क्षति पछि निरीक्षणका लागि गृहजिल्ला आउनुभएको हो ।

गोरखापत्रबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *