हरिशयनी एकादशी आँगनमा तुलसी रोपी विष्णुको पूजाआराधना गरी मनाउँदै

आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशी, सनातन धर्मावलम्बीहरू आँगनमा तुलसी रोपी भगवान् विष्णुको पूजाआराधना गरी मनाउँदैछन्। ज्येष्ठ शुक्ल एकादशीका दिन राखिएको दलबाट तयार भएको तुलसीको विरुवा आज सार्ने प्रचलन छ।

आषाढ शुक्ल एकादशीका दिन रोपिएको तुलसी भगवान् विष्णु र विष्णुप्रियाका नामले चार महिनासम्म पूजा गर्ने परम्परा छ। यो अवधिलाई चतुर्मास पनि भनिन्छ। कार्तिक शुक्ल (हरिबोधिनी) एकादशी का दिन तुलसीविवाह गरेपछि चतुर्मास अनुष्ठान सम्पन्न हुन्छ। असार शुक्ल एकादशीदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्ने मान्यतास्वरूप चार महिनासम्म नयाँ मांगलिक कार्य गरिँदैनन्। यो अवधिमा भगवान् विष्णुसँग सम्बन्धित पूजा पाठ अनुष्ठानलाई महत्त्व दिइन्छ।

यद्यपि सनातन धर्मावलम्बीका महत्त्वपूर्ण चाडपर्व यसै अवधिमा पर्छन्। वर्षमा पर्ने २४ एकादशीमध्ये हरिशयनी र हरिबोधिनी एकादशीलाई विशेष महत्त्व दिइन्छ। वैष्णव धर्म लिएकाहरूले एकादशीलाई विशेष महत्त्व दिए पनि स्मृति मान्नेहरूले यसलाई सामान्य किसिमले मनाउँछन्। आयुर्वेदिक औषधिका रूपमा समेत तुलसीको अत्यधिक उपयोग गरिन्छ।बढी अक्सिजन फ्याँक्ने वनस्पतिका रूपमा तुलसीको वैज्ञानिक महत्त्व छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *