“भूमे” पर्व खाम संस्कृतिको संरक्षण र पहिचान होः मुख्यमन्त्री पोखरेल


मुख्यमन्त्री शंकर पोखरेलले “भूमे” पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका समस्त खामभाषी मगर समुदाय दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिकोे शुभकामना व्यक्त गर्नु भएको छ । प्रदेश नं. ५ को रोल्पा र रुकुमका खामभाषी मगर समुदायले मनाउने भूमे पर्व े प्रदेशको विशेष सांस्कृतिक पर्व भएको बताउनु भएको छ । विविधतायुक्त नेपाली समाजमा जाति र समुदायले मनाउने पर्वले समाजमा एकता, सद्भाव र मेलमिलापको वातावरण बनाउन भूमिका खेलेको उहाँले शुभकामना सन्देश मार्फत जानकारी दिनु भएको छ ।

मुख्यमन्त्री पोखरेलले  “भूमे”पर्व मार्फत खाम संस्कृतिको पहिचान र संरक्षणमा बल पुगेको बताउनु भएको छ । खाम संस्कृति समुदाय र क्षेत्र विशेषको मात्रै नभएर नेपाली समाजको महत्वपूर्ण संस्कृतिको रुपमा पहिचान स्थापित भएको छ । त्यसका साथै भूमे पर्व प्रकृतिसँग सम्बन्धित रहेको बताउनु भएको छ ।
भूमे पर्वले प्रकृति र मान्छेबीचको गहिरो सम्बन्ध उजागर गरेको छ । प्रकृतिले हामीलाई दिएका अमूल्य उपहार माटो,पानी,जीवजन्तु र रुखविरुवाको संरक्षण र सही उपयोग गर्न सक्दा मात्रै हाम्रो जीवन सरल र सहज रुपमा अघि बढ्न संभव भनिएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले सबै जाति र समुदायको उत्थान र विकासमा जोड दिएको छ । अल्पसंख्यक, आदिवासी, जनजाति र पछाडि पारिएका जाति तथा समुदायको उत्थानका लागि संवैधानिक रुपमै आयोग गठन गर्ने व्यवस्था गरेर सबैप्रति सम्मान व्यक्त गरेको छ । प्रदेश सरकारले भूमे पर्वको सांस्कृतिक महत्वलाई सम्मान गर्दै आज असार १ गते रोल्पा र रुकुममा स्थानीय बिदा दिने निर्णय गरेको छ ।

प्रदेश सरकार योजनाबद्ध विकास मार्फत समृद्ध प्रदेश, खुसी जनताको लक्ष्य लिएको छ । यतिबेला हामी कोरोना भाइरस कोभिड—१९ विरुद्धको संघर्षमा केन्द्रित छौं भन्नु भएको छ । नागरिकलाई कोरोना भाइरसको संक्रमणबाट जोगाउन तीनै तहका सरकार स्पष्ट कार्ययोजना सहित समन्वय र सहकार्य गर्दै अघि बढेका छन् । नागरिकको जीवन जोगाउने विषयलाई उच्च प्राथमिकता दिदै राज्य संयन्त्रको प्रभावकारी परिचालन भएको छ । यो संकटको बेला उत्तेजना, आक्रोश र भडकाउमा नलागी उच्च मनोबलका साथ राज्य संयन्त्रलाई सहयोग गरौं, सबैको सार्थक सहयोगले नै महामारीलाई जित्न सकिन्छ भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *